टोकियो (जापान), साउन १३ । पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली संघ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौं नेपाल महोत्सवको तयारी पूरा भएकोे छ ।
नेपाल–जापान सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा टोकियोको योयोगीपार्कमा आयोजना गरिने नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मूल आयोजक समितिका संयोजक तथा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाले जानकारी दिए ।
नेपाल र नेपाली चिनाउने महोत्सवकारुपमा लिइएको सो कार्यक्रमअन्तर्गत् नेपाली कला, संस्कृति र नेपाली खाना तथा पर्यटकीयस्थलको प्रचारप्रसार गरिने बताइएको छ ।
समितिका उपसंयोजक एवं संघका उपाध्यक्ष देवीलाल भण्डारीले महोत्सवमा चर्चित नेपाली तथा जापानी कलाकारको सांगीतिक प्रस्तुति रहने बताए ।
महोत्सव अवधिभर सबैजनालाई आ–आफ्नै कला–सस्ंकृति र पहिचान झल्काउने पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ ।
करिब ५० कक्ष राखिएको नेपाल महोत्सवको ४५ हजार नेपालीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रासस





प्रतिक्रिया दिनुहोस्