Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


बाढी–पहिरोपीडितलाई राहत र उद्धार गर्न उपराष्ट्रपति पुनको आग्रह


0
Shares

                                                                      फाइल फोटो

काठमाडौं, साउन १३ । उपराष्ट्रपति नन्दबहादुर पुनले अविरल वर्षाका कारण प्यूठानलगायत विभिन्न जिल्लामा बाढी र पहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले विहीबार एक विज्ञप्ति प्रकाशित गरी प्यूठान, बागलुङ, रोल्पा, दाङ, पाल्पा, कपिलवस्तु, मकवानपुर, झापा, उदयपुर, रुपन्देही, अर्घाखाँची, पर्वत, सर्लाही, दोलखा, बारा, बाँकेलगायतका जिल्लामा बाढी–पहिरोबाट दर्जनौं मानिसको मृत्यु भएको, कतिपय बेपत्ता र घाइते भएको, तराई–मधेसमा डुबानका कारण हजारौं नागरिक विस्थापित भएको र पहिरोले सयौं परिवारको उठिबास भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले बाढी–पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

तराई–मधेसको बाढी र डुबान, पहाडको बाढी–पहिरोमा बेपत्ता भएकाहरुको छिटो खोजी गर्न, बाढी–पहिरोमा परेका पीडितहरुको यथाशीघ्र उद्धार गर्न र पीडितलाई राहत दिलाउन उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

यस्तै, उनले विहीबार अपराह्न धनकुटामा बस दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित व्यक्तिहरुको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । रासस