२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


धनकुटा बस दुर्घटनामा पूर्वराज्यमन्त्री खेवासहित १३ जनाको मृत्यु (भिडियो)


0
Shares

कविराज घिमिरे/प्रकाश धौलाकोटी (इमेज)

अपडेटः
धनकुटा, तेह्रथुम, साउन १३ । धनकुटाको परेवादिन गाउँ विकास समिति वडा नम्बर–५ सिधुवामा यात्रुबहाक बस दुर्घटना हुँदा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित १३ जनाको मृत्यु भएको छ ।

तेह्रथुम र धनकुटाको सीमावर्ती सिधुवाबजारनजिकै विहीबार दिउँसो भएको यात्रुबस दुर्घटनामा खेवासहित १३ जनाको मृत्यु भएको हो ।

७ जनाको घटनास्थलमै र ६ जनाको उपचारकाक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जनाइएको छ ।

अरु मृतकहरुमध्ये धनकुटाको परेवादिन–७ की तारा बस्नेत, उनकी ३ वर्षीय छोरी खिममाया, सोही ठाउँकी अतिमाया तामाङ, धरान–२ का बेदप्रकाश अग्रवाल, धनकुटा बुढीमोरङ–८ का सनम तामाङ र तेह्रथुम फुलेक–३ की होमा पौडेलकोमात्र सनाखत भएको छ ।

मृतकमध्ये बाँकी पाँचजनाको विहीबार बेलुकासम्म सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

संखुवासभाको मुढशनिश्चरेबाट धरानतर्फ आउँदै गरेको बा २ ख ७३६६ नम्बरको बस दिउँसो करिब साढे १२ बजे दुर्घटना भएको थियो ।

अनियन्त्रित गतिका कारण ‘ब्रेकफेल’ भएर दुर्घटना भएको हुनसक्ने तेह्रथुम ट्राफिक प्रहरी प्रमुख भीम कटुवालले जानकारी दिए ।

बस सडकबाट अन्दाजी दुई सय मिटर तल खसेर क्षतविक्षत भएको छ ।

भिडियो हेर्नुहोस्