१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


भारतले बनाएको बाँध नेपालीले भत्काइदिए, झडपमा एक दर्जन नेपाली घाइते (फोटोफिचर)


0
Shares

शिवहरि भट्टराई (इमेज)
अपडेटः
राजविराज, साउन १३ । सप्तरीको सीमावर्ती क्षेत्र तिलाठीमा भारतले दशगजा मिचेर एकतर्फीरुपमा निर्माण गरेको बाँध नेपालीहरुले भत्काइदिएका छन् ।

नेपालको स्थानीय प्रशासन र सर्वसाधारणले आग्रह गर्दागर्दै पनि गत शनिबारदेखि भारतीयहरुले नेपाली भूमि डुबानमा पार्नेगरी बाँध निर्माण सुरु गरेका थिए ।

ठूलो संख्यामा गएका सप्तरीका स्थानीयले विहीबार उक्त बाँध भत्काएका हुन् ।

बाँध भत्काउनेक्रममा दुई पक्षबीच भएको झडपमा परी एक दर्जन नेपाली घाइतेसमेत भएका छन् ।

भारतीयहरुको ढुंगा प्रहारबाट तिलाठी–४ का देवनारायण यादव, हर्षवद्धन कर्ण, दुर्गानन्द झा, रोशन झा, सुशील यादव, सन्जीब झालगायत एक दर्जन घाइते भएका छन् ।

घाइते सम्पूर्णलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

‘माथिको आदेश’ भन्दै १ सय ५० जना भारतीयहरु दैनिक बाँध बनाउन तल्लिन रहेकोमा विहीबार भने नेपालीहरुको विरोधका कारण निर्माणको काम रोकिएको थियो ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र स्थानीयले कुनैपनि हालतमा बाँध बनाउने काम अघि बढ्न नदिने बताएका छन् भने भारतीयहरु ठूलो संख्यामा उपस्थित भएका छन् ।

उक्त बाँध निर्माण भए नेपालतर्फ खाँडो खोलाको निकास थुनिने छ, जसका कारण नेपालका तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी र बरसाइनलगायतका कम्तिमा १२ ओटा गाविस डुबानमा पर्नेछन् ।

१५ वर्षअघि भारतीय पक्षले एकपक्षीयरूपमा खाँडो खोलाको बहाव थुनिने गरी दशगजामा बाँध निर्माण सुरु गरेको थियो ।

गत शनिबार खाँडो खोलाको बाढीले उक्त बाँध भत्काइदिएको थियो ।