शिवहरि भट्टराई (इमेज)
राजविराज, साउन १४ । सप्तरीको सीमावर्ती गाविस तिलाठीस्थित दशगजा क्षेत्रमा भारतले एकपक्षीयरुपमा बनाइरहेको बाँध तत्काल अघि नबढाउने सहमति भएको छ ।
बिहारको कुनौलीमा नेपाली र भारतीय अधिकारीहरुबीच शुक्रबार भएको वार्तामा दशगजा क्षेत्रमा बाँध नबनाउने सहमति भएको हो ।
दुई देशबीच भएको तीनबुँदे सहमतिमा खाँडो खोलाको धारलाई पुरानै स्थानबाट बगाउन ‘च्यानलाइज’ गर्ने, दशगजामा हराएका सीमास्तम्भ खोजीका लागि दुबै पक्षले केन्द्रीयस्तरमा पहल गर्ने र तत्काल बाँध बनाउनेकार्य रोक्ने रहेका छन् ।
नेपालको जल उत्पन्न प्रकोप तथा भारतको जल संशाधन विभागका प्रमुखको संयुक्त टोलीले अध्ययन गरी दिने प्रतिवेदनको आधारमामात्रै निर्माणकार्य गर्ने सहमति भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।
वार्तामा नेपालको तर्फबाट सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमसहित जिल्लास्थित सुरक्षा प्रमुखहरु र भारतको बिहारस्थित सुपोल जिल्लाका डिस्ट्रिक मजिस्टे«ड बैधनाथ यादवसहितका अधिकारीहरु सहभागी थिए ।
तिलाठीमा भारतीयले नेपाली भूमि डुबानमा पार्नेगरी बाँध निर्माण गरेपछि विहीबार भारतीयहरुसँग भएको झडपमा १२ जना नेपाली घाइते भएका थिए ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्