Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


नेपालमै पहिलोपटक काभ्रे जिल्ला दूधमा आत्मनिर्भर घोषित


0
Shares

                                                                फाइल फोटो

बनेपा, साउन १४ । नेपालमै पहिलोपटक काभ्रेपलाञ्चोक जिल्लालाई शुक्रबार दूधमा आत्मनिर्भर घोषणा गरिएको छ ।

जिल्ला पशुसेवा कार्यालय, काभ्रेपलाञ्चोकले गत साउन १० गते जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्न पाउँ भनेर दिएको निवेदन अध्ययन गर्दा दूध उत्पादनमा आत्मनिर्भर भएकाले आत्मनिर्भर जिल्ला घोषणा कार्यविधि–२०७३ अनुसार पशुपक्षी विकासमन्त्री शान्ता मानवीले जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गरेकी हुन् ।

कार्यक्रममा मन्त्री मानवीले आफू पशुपक्षी विकासमन्त्री भएपछि आफूले इलामदेखि चितवन हुँदै काभ्रेपलाञ्चोकको भ्रमण गर्नेक्रममा काभ्रेपलाञ्चोकमा बढी दूध उत्पादन हुने पाएकाले आत्मनिर्भर घोषणा गरेको बताइन् ।

उनले मन्त्रालयले ४० बुँदे घोषणापत्र जारी गरी नेपाललाई एक वर्षमा अन्डा, दुई वर्षमा मासु र तीन वर्षमा दूधमा आत्मनिर्भर देश बनाउने घोषणा गरेको जानकारी दिइन् ।

उनले काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेपनि जिल्लाको दूधमा गुणस्तर बढाउन सुझाव दिँदै दूधको गुणस्तर कायम राख्न किसानलाई आग्रह गरिन् ।

मन्त्री मानवीले भनिन्–‘अब उपभोक्ताले पनि प्रशोधन गरेको दूधको उपभोग गरौं ।’

पशुसेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमीले काभ्रेपलाञ्चोक पशुपालनका लागि सम्भाव्यता बोकेको जिल्ला भएकाले व्यावसायिक पशुपालनतर्फ किसान अग्रसर हुनुपर्ने बताउँदै यो जिल्ला काठमाडौंमा दूध आपूर्ति गर्ने पहिलो जिल्लासमेत भएको उल्लेख गरे ।

उनले काभ्रेपलाञ्चोकलाई मासु र अन्डामा आत्मनिर्भर जिल्ला घोषणा गर्न सकिने भएपनि त्यसका लागि केही प्रक्रिया अघि बढाउनुपर्ने भएकाले चरणबद्धरुपमा मासु र अन्डामासमेत आत्मनिर्भर जिल्ला घोषणा गरिने जानकारी दिए ।

सो अवसरमा राष्ट्रिय सहकारी संघका केन्द्रीय अध्यक्ष एवं सांसद केशव बडाल, राष्ट्रिय दुग्ध विकास संस्थानका महानिर्देशक गंगा तिमल्सिना, सांसदद्वय कञ्चनचन्द्र वादे, रामहरि सुवेदी, वरिष्ठ पशु विकास अधिकृत डा. नारायणबहादुर श्रेष्ठलगायतले जिल्लालाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएपनि यसलाई सधैं कायम राख्न सबै निकाय एक हुनुपर्ने बताए । रासस