Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


तपाईसँग हदबन्दीभन्दा बढी जग्गा त छैन ? जफत होला नि !


0
Shares

काठमाडौं, साउन १८ । सरकारले देशभर विभिन्न व्यक्ति या परिवारसँग रहेको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने प्रक्रिया सुरु गरेको छ ।

भूमिसुधार मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा जफत गरी सरकारमा नाममा ल्याउन मातहतका कार्यालयलाई परिचालन गरी विवरण नै बटुलिसकेको छ ।

‘भूमिसुधार कार्यालय र भूमिसुधार सम्बन्धी कामसमेत गर्न अख्तियारी पाएका मालपोत कार्यालयहरुले अभियान नै चलाएर देशभर हदबन्दीभन्दा बढी रहेको जग्गाको विवरण तयार गरेका छन्,’ भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाले भने, ‘कानुनबमोजिम हदबन्दीभन्दा बढी जग्गा सरकारको स्वामित्वमा ल्याउन ती कार्यालयहरुलाई निर्देशनसमेत दिइसकेका छौं ।’

मुलुकमा हदबन्दी बढी अर्थात् कुनै व्यक्ति या परिवारले कानुनी रुपमा राख्न पाउनेभन्दा बढी जग्गा कति होला ? मन्त्रालयले तयार पारेको विवरणअनुसार देशभर हदबन्दी बढी जग्गा ३८ हजार ३ सय १९ रोपनी अर्थात् २ हजार ८ सय ७८ बिघामात्र छ ।

हदबन्दीभन्दा बढी जग्गावाल परिवार छुट्टिएको, जग्गा बेचिसकेको, नापीको मोठमा जनिएको तर दर्ता हुन बाँकीजस्ता विभिन्न खाले भएकाले कति परिवारको हदबन्दीभन्दा बढी जग्गा जफत हुन लागेको भन्नेबारे यकिन भन्न नसकिने भूमिसुधार विभागले जनायो ।

एक व्यक्ति/परिवारले कति जग्गा राख्न पाउँछ ?
पहाडमा ७५ रोपनी
उपत्यकामा ३० रोपनी
मधेस/तराईमा ११ बिघा
–कान्तिपुर दैनिकबाट