
फाइल फोटो
काठमाडौं, साउन २० । खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलामखानीलाई अन्वेषणात्मक ‘ड्रिलिङ’ गर्ने भएको छ ।
फलामखानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर यकिन गर्नका लागि अन्वेणनात्मक ड्रिलिङ गर्न थालिएको विभागका प्रवक्ता कृष्णदेव झाले जानकारी गराए ।
उनका अनुसार दुईपटक सर्भे गरिसकेको उक्त खानीमा विभागले अन्वेणनात्मक ड्रिलिङपश्चात् फलामको परिमाण पत्ता लगाएपछि उत्खनन् गर्नेछ ।
रामेछापको ठोसे र फुलचौकीको भएको फलामखानीभन्दा गुणस्तरीय फलाम निस्कने भएकाले विभागले अन्वेणनात्मक ड्रिलिङ गर्न थालेको हो ।
तर, नवलपरासीको उक्त फलामखानीमा ४० देखि ६० प्रतिशत फलाम रहेको अनुमान गरिएको छ ।
रामेछापमा रहेको फलामखानी फलाम उत्पादन गर्न योग्य नभएपछि सिमेन्ट उद्योगलाई दिइएको छ । रामेछापमा एक करोड टन फलामखानी रहेको छ ।
फुलचौकीमा रहेको फलामखानी पनि ४० प्रतिशतलेभन्दा कम फलाम भएकाले फलाम उत्पादन नहुने भएपछि विभागले अन्य कम्पनीलाई उत्खनन्को लागि जिम्मा दिएको प्रवक्ता झाले बताए ।
नवलपरासीको धौवादीमा रहेको फलामखानी जमिनमाथि नै भएकाले ड्रिलिङ गर्न सजिलो हुने वरिष्ठ मेटलर्जिकल इन्जिनियरसमेत रहेका झाले जानकारी गराए ।
धौवादीमा १० किलोमिटर क्षेत्रसम्म उक्त फलाम खानी फैलिएको छ । करिब पाँच करोड टन फलामखानी भएको प्रारम्भिक अध्ययनले देखाएको प्रवक्ता झाले जानकारी गराए । रासस
प्रतिक्रिया दिनुहोस्