Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


गढीमाईमा बलिप्रथा रोक्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं, साउन २० । सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलिजस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

आदेशमा भनिएको छ–‘जनतालाई त्यो ठीक होइन भन्ने जनचेतना जगाउनुपर्‍यो, जनता आफैंले आचारसंहिता तयार गरी लागू गर्ने वातावरण सरकारले बनाउनुपर्‍यो ।’

वातावरणीय दृष्टिकोणलेसमेत बलि दिनु उचित नभएको हुँदा सरकारले त्यसलाई रोक्नका लागि समिति गठन गर्न निर्देशन दिइसकेको छ ।

पशुबलि क्रुरताको रुप भएकाले त्यसलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले २०७१ मंसिर ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाइ रिट निवेदन दायर गरेका थिए । रासस