३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नेवि संघमा चार खेमा, अध्यक्षमै १६ जना: को-को छन् प्रभावशाली ?


0
Shares

काठमाडौं, साउन २२ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन साउन २३(भोली)बाट काठमाडौंमा सुरु हुँदैछ । करिब नौं बर्ष पछि हुन लागेको महाधिवेशनमार्फत नेतृत्वमा पुग्न अध्यक्षमा मात्र १६ जनाले दावी गरेका छन् ।

लामो समयपछि हुन लागेको महाधिवेशनमा यति धेरै अध्यक्षका दावेदार देखिए पछि पार्टी नेतृत्वलाई व्यवस्थापन गर्न कठिन देखिएको छ । संगठनको केन्द्रीय तहमा तीन दशक विताएका देखि एकदशक देखि मात्र क्रियाशिल देखिने नेताहरु अध्यक्षको उम्मेद्वारी घोषणा गरेर भोट माग्न व्यस्त छन् ।

अध्यक्षमा दावी गरिरहेकाहरु पनि माउ पार्टीका नेताहरुको फरक फरक खेमाबाट तयारी गरिरहेको बुझिएको छ । यतिबेला प्रष्ट रुपमा चारवटा खेमाले अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेको विद्यार्थीहरुले बताइरहेका छन् । संगठन विभिन्न गुठ तथा उपगुठमा विभाजित भएर उम्मेद्वारी घोषणा गर्ने लहर नै चलेपछि पार्टी नेतृत्वलाई मिलाउन हम्मेहम्मे परिरहेको छ । ‘पार्टीका नेताले नै सिमित विद्यार्थी नेतालाई च्याप्ने, अन्यलाई निषेध गर्ने तथा विभेद गर्ने परिपाटी बसाएकाले समस्या भएको छ,’नेवि संघमा केन्द्रीय सदस्यको दावी गरिरहेका रबिन्द्र रोकायले भने ।

जसको फलस्वरुप यतिबेला अध्यक्षमा मात्र १६ जना उम्मेद्वार देखिएका छन् । मनोजमणी आचार्य, जितजंग बस्नेत, दीपक भट्टराई, नैनसिहं महर, आनन्द त्रिपाटी, कुन्दनराज काफ्ले, निलकण्ठ रिजाल, शुभराम बस्नेत, रत्न कार्की, क्षितिज भण्डारी, राजीव ढुंगाना, लक्ष्मण आचार्य, रामप्रसाद अधिकारी, अमृत पन्थी, दीपक भण्डारी, सरोज थापा, विनीता अधिकारीलगायतले अध्यक्षमा दावी गरेका छन् ।

यसभित्र पनि चार खेमा विभाजित जस्तो देखिएको छ । पुरानो संस्थापन मानिएको पौडेल–कोइराला, नयाँ संस्थापन मानिएको देउवा, तेस्रो धार मानिएको सिटौला र चौथो खेमाका रुपमा खुमबहादुर खड्काले आ–आफ्ना उम्मेद्वारको तयारी गरिरहेको बुझिएको छ । पौडेल–कोइरालाबाट मनोजमणी आचार्य, दीपक भट्टराई, आनन्द त्रिपाटी, निलकण्ठ रिजाल, रामप्रसाद अधिकारी, विनीता अधिकारी, लक्ष्मण आचार्यलगायत छन् ।

यस्तै देउवा खेमाबाट नैनसिहं महर, जितजंग बस्नेत, रत्न कार्की, सरोज थापा, राजीब ढुंगाना लगायतको नाम चर्चामा छ । यता सिटौला खेमाबाट कुन्दनराज काफ्ले अध्यक्षको तयारी गरिरहेका छन् । त्यस्तै चुनावी माहोल तातिएसँगै शुभराम बस्नेतलाई देउवा खेमाले बेवस्था गरेको भन्दै खुमबहादुर खड्काको निकट रहेर अध्यक्षको तयारी गरिहेको बुझिएको छ । स्रोतका अनुसार आनन्द त्रिपाटीले पौडेल–कोइराला र खुमबहादुरको दुवैतर्फबाट साथ पाएको बताइन्छ

कसको संभावना बलियो ?

मनोजमणी आचार्य

पटक–पटक स्थिगित हुँदै आएको नेवि संघमा हरेक पटक अध्यक्षका लागि मनोमणी आचार्यको नाम छुटेको छैन् । रोल्पाबाट विद्यार्थी राजनीति सुरु गरेका आचार्य विगत दुई दशक देखि क्रियाशिल छन् । पटक–पटक केन्द्रीय समितिमा बसेर काम गरेका आचार्य वि.स. २०५२ देखि ०५७ सम्म संघको रोल्पा अध्यक्षमा बसेर काम गरेका हुन् । सालिन र नम्र स्वाभावका आचार्य धेरै विद्यार्थीले रुचाएका उम्मेद्वार मध्ये पर्छन् । संगठनलाई चलयमान बनाउने अनेकौं एजेण्डा लिएर मैदानमा रहेका आचार्यलाई हाल अध्यक्षमा दावी गरिरहेकाहरुमध्येबाट अन्ततः करिब पाँचजनाले समर्थन गर्न सक्ने सम्भावना छ । उनललाई पौडेल–कोइराला खेमाबाट आधिकारिक उम्मेद्वार बनाउने निश्चित भएको विद्यार्थीहरुमाझ चर्चा छ ।

जितजंग बस्नेत

ललितपुरका स्थायी बासिन्दा जितजंग बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । नेपाली कांग्रेसमा निरन्तर तीन पटकसम्म महाधिवेशन प्रतिनिधि भइसकेका बस्नेत नेवि संघको ११ औं महाधिवेशनमा अध्यक्षका दरिला उम्मेद्वार हुन् । संघको पूर्व महामन्त्री समेत रहेका बस्नेत सहयोगी भावनाका कारण धेरै विद्यार्थीले रुचाउँछन् । शैक्षिक संस्थामा गुण्डागर्दी, चन्दा असुली र दादागिरीको अन्त्य गर्दै गुणस्तरिय शिक्षाका अनेकौं एजेन्डा लिएर उनी चुनावी मैदानमा छन् ।

दिपक भट्टराई

करिब दुई दशक देखि निरन्तर नेवि संघको क्रियाशिल राजनीतिमा लागेका दिपक भट्टराई ११ औं महाधिवेशनमा अध्यक्षका लागि बलिया उम्मेद्वार हुन् । निरन्तर तीन कार्यकालसम्म केन्द्रीय समितिमा बसेका काम गरेका भट्टराईलाई पौडेल–कोइराला खेमाकै आर्शिबाद छ । त्रि–चन्द्र क्याम्पसको इकाइ अध्यक्ष तथा स्ववियू सभापति भइसकेका उनलाई राम्रो बैचारिक क्षमता र मिलनसार नेताका रुपमा चिन्नेहरु धेरै छन् । काठमाडौं उपत्यकालगायत थुप्रै जिल्लामा राम्रो प्रभाव जमाएका उनी व्यवहारिक र बैज्ञानिक शिक्षा स्थापनाको अभियान लिएर चुनावी मैदानमा छन् ।

कुन्दनराज काफ्ले

नेवि संघको पूर्व कोषाध्यक्ष भइसकेका कुन्दनराज काफ्ले पशुपति क्याम्पसबाट सक्रिय राजनीतिमा लागेर विद्यार्थी राजनीतिमा उदाएका लोकप्रिय नेता हुन् । नेवि संघको हरेक ‘मुम्मेन्ट’मा काफ्लेको उच्च सक्रियता रहँदै आएको छ । २०६२÷०६३ सालको जनआन्दोलनमा गणतन्त्रको पक्षमा सडकमा मोर्चाबन्दी गरेर चर्चा कमाएका उनी विगत डेढ दशकदेखि विद्यार्थी राजनीतिमा क्रियाशिल छन् । सिटौला खेमाबाट बलिया उम्मेद्वार मानिएका उनी आफूसँग एकहजार मतदाता ‘ग्रीप’मा राखेर मैदानमा उत्रिएको बताइरहेका छन् । सहयोगी भावना र विद्यार्थीका मुद्दामा आक्रामक अभियन्ताका रुपमा उनलाई चिन्नेहरु धेरै छन् ।

आनन्दराज त्रिपाटी

सोझो स्वाभाव र सहयोगी भावना भएका आनन्दराज त्रिपाटी विगत ३२ बर्ष देखि नेवि संघको केन्द्रीय राजनीतिमा छन् । ११ औं महाधिवेशनमा अध्यक्षका प्रमुख दावेदार मध्येमा उनको नाम चर्चामा छ । पार्टीको नियतीकै कारण नेतृत्व पुग्न नसकेको बताइरहेका उनी यसपटक जसरी नेतृत्व हत्याउने अभियानमा छन् । नेपाली कांग्रेसमा प्रभावशाली भूमिका राख्ने नेता खुमबहादुर खड्का र पौडेल–कोइराला खेमाको साथ पाएको दावी गर्ने त्रिपाटी आम विद्यार्थीलाई एउटै मुलधारमा ल्याउने अभियानका साथ चुनावी मैदानमा छन् ।

नैनसिहं महर

कुशल बक्ता र नैतिकताको राजनीति गर्न रुचाउने नैनसिहं महर नेवि संघमा अध्यक्षका दरिला दाबेदार हुन् । पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने महर विद्यार्थी माझ लोकप्रिय छन् । पटक–पटक केन्द्रीय समितिमा बसेर सक्रियताका साथ काम गरेका महर डडेल्धुराबाट विद्यार्थी राजनीतिमा उदाएका नेता हुन् । नैतिकतामा आधारिक मानवतावादी शिक्षाको अभियानमा जुटेका महर नेवि संघको ११ औं महाधिवेशनबाट नेतृत्वमा पुग्न चुनावी मैदानमा छन् । राम्रो लेखकका रुपमा पनि आफूलाई चिनाएका महर आफूसँग यतिबेला प्रष्ट शैक्षिक एजेन्डाहरु बोकेर मत माग्ने दौडाहामा छन् ।

अरु को को चर्चामा ?
नेवि संघलाई नयाँ विचार र सिद्धान्तका आधारमा परिमार्जन गर्दै लानुपर्ने अभियानमा रहेका निलकण्ठ रिजाल अध्यक्षका प्रवल दाबेदार मानिन्छ । त्यस्तै शुभराम बस्नेतका पक्षमा पनि माहोल राम्रोसँग तयार भएको बुझिएको छ । क्षितिज भण्डारीले पनि पछिल्लो समयमा विद्यार्थीमाझ राम्रो लोकप्रियता हासिल गरिसकेकाले उनको पनि अध्यक्षमा राम्रो माहोल बन्दै गइरहेको चर्चा छ । लामो समयदेखि नेवि संघको हरेक अभियानमा सक्रियताका साथ विद्यार्थी राजनीतिमा भिजेका रामप्रसाद अधिकारीले पनि प्रतिनिधीहरुको मत जित्दै गइरहेको बुझिन्छ । रत्न कार्की, राजीव ढुंगानको पक्षमा पनि जनमत तयार हुँदै गइरहेको छ ।

बार्गेनिङ मात्र हुनसक्छ

नेवि संघको विधान संसोधन भएर नयाँ प्रस्ताव गरेसँगै उपाध्यक्ष तथा महामन्त्रीको संख्या बढेपछि हाल अध्यक्षमा दावी गरिरहेका अधिकांश नेताहरु उपाध्यक्ष तथा महामन्त्रीमा सेट हुने सम्भावना पनि प्रवल देखिएको छ । उनीहरुले आफूलाई पदाधिकारीमै राम्रो स्थान पाए अध्यक्षको दावी छाड्ने सम्भावना बलियो छ ।

लामो समयदेखि महाधिवेशन नभएकाले उचित अवसर नपाएका कारण अध्यक्षमा दावी गरिहेकाहरु अन्ततः पदाधिकारीका जुनसुकै पदमा सहमत हुने सम्भावना रहेको बुझिन्छ । कतिपय विश्लेषकहरुले दावेदारहरुलाई व्यवस्थापन गर्न नसके पार्टी नेतृत्वले हस्तक्षेप गरी नेतृत्व आफ्नो अनुकुल बनाउने सम्भावना रहेको बताउँदै आइरहेका छन् । यसमा हरेक उम्मेद्वारहरुले सचेत हुनुपर्ने औंल्याइएको छ ।