Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


श्रीमानले विदेशबाट पठाएको पैसा लिन जाँदा पहिरोमा परी महिलाको मृत्यु


0
Shares

गोरखा, साउन २४ । गोरखाको थुमी गाविसको सोती बजारस्थित केयरपानीमा झरेको पहिरोमा परी कासीगाउँ गाविस–५ की ३५ वर्षीया कान्छीमाया गुरुङको मृत्यु भएको छ ।

आइतबार अपराह्न खसेको पहिरोमा परी कान्छीमायाको मृत्यु भएको हो ।

वैदेशिक रोजगारीमा रहेका श्रीमान् बसबहादुर गुरुङले पठाएको पैसा झिक्न आरुघाटस्थित बैंक आउने क्रममाः पहिरोसँगै झरेको ढुङ्गा लागेपछि कान्छीमायाको घटनास्थलमै मृत्यु भएको कासीगाउँका गाविस सचिव दीपक गुरुङले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार कान्छीमायासँगै गाउँका चार जना महिला आरुघाटबजार आउँदै थिए ।

तीन जना कटेपछि खसेको ढुङ्गाले कान्छीमायालाई लागेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरीले शवलाई पहिरोबाट बाहिर निकालेको थियो । शवको आरुघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरिएको छ ।

हालै जङ्गली च्याउ खाँदा कान्छीमायाकी ६५ वर्षीया आमा फुलमाया गुरुङ र ६ वर्षीया छोरी रोसनी गुरुङको पनि मृत्यु भएको थियो । एकपछि अर्को घटना भएपछि गाउँले तथा आफन्त शोकमा परेको गाविस सचिव गुरुङले बताए । (रासस)