बैतडी, साउन २४ । अविरल वर्षाले बैतडीको तल्लादेही–८ डाँडाखालीको पूरै जमिन भासिएको छ ।
जमिन भासिएपछि डाँडाखालीमा बसोबास गर्ने ५१ परिवार विस्थापित भएका छन् भने स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
डाँडाखालीका जमिन चिरा पर्दै करिब डेढ फिट भासिएर तल सरेको बताइएको छ ।
शनिबार जमिन भासिएपछि अहिले सो ठाउँका ५१ परिवारको विचल्ली भएको छ ।
माथिबाट आएको पहिरोले तीनजनाको घर पुरेको छ भने बाँकी रहेका घरपरिवार पनि जमिन भासिएपछि सुरक्षित स्थानतर्फ जान थालेका छन् ।
केही परिवार लोखाडी प्रावि डाँडाखालीमा बसिरहेका छन् भने अन्य परिवार सुरक्षित वासस्थानको खोजीमा रहेको स्थानीय रनबहादुर बोहराले बताए ।
उनले भने–‘अहिले गाउँका सबै मानिस त्रासदीपूर्ण वातावरणमा बस्न बाध्य छौं ।’
सो गाउँमा अहिले प्रहरी, रेडक्रस र विपद्मा काम गर्ने संघ–संस्था र स्थानीय प्राविधिक टोली खटाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
प्राविधिक टोलीले अध्ययन गरेपछि बस्ती नै सार्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले बताए ।
वर्षा हुनेक्रम नरोकिएकाले स्थानीय बासिन्दा झन् त्रसित छन् ।
यसअघि, सोही ठाउँमा शनिबार बिहान पहिरो जाँदा तीन घर पुरिँदा रु १८ लाख बराबरको क्षति भएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्