३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


विद्यार्थीको भावना विद्यार्थीले नै बुझेको हुन्छ : सागर परियार


0
Shares

काठमाडौं, साउन २६ । ९ वर्षपछि काठमाडौंमा जारी नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा शक्तिसंचय भएकै कारण पदाधिकारीका आकांक्षीहरु धेरै देखिएका छन् । तीमध्येका एक हुन्, दुर्गम पश्चिम बाग्लुङका सागर परियार ।

नेवि संघको विधानले ३२ वर्ष उमेर हद तोकेपछि सागर पनि यही हुलमा समावेशीतर्फको उपाध्यक्षको उम्मेदवारमा आफूलाई उभ्याएका हुन् ।

युवा, प्रखरवक्ता, नैतिक एवं मिलनसार सागर यसअघि पूर्वाअञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायतर्फ नेविसंघ संयोजक थिए ।

उनको उम्मेदवारी किन त ? उनी स्पस्टै भन्छन्–‘विद्यार्थीको नेतृत्व विद्यार्थीलेमात्रै गर्नसक्छ । त्यसैले विद्यार्थीले विद्यार्थी चुन्न पाउनुपर्दछ । म विद्यार्थी पनि भएकाले विद्यार्थीको पीरमर्का बुझ्न सक्छु ।’

संगठन र विद्यार्थीको हितमा काम गर्न विद्यार्थी नै चाहिन्छ । ‘टिकेप्रथा’ आजको युगमा कुनै पनि हालतमा स्वीकार्य नहुने सागरको तर्क छ ।

तोकतन्त्रको मूल्य–मान्यता र चरित्रलाई अंगीकार गर्ने कार्य विद्यार्थीकालबाटै हुनुपर्नेमा उनको जोड छ ।

विद्यार्थी नेतृत्व दलमुखी र सत्तामुखी भन्दापनि तत्कालीन शैक्षिक एजेन्डा, शिक्षाको स्तरोन्नति, आधुनिकीकरण र गुणस्तरीय शैक्षिक प्रणालीको व्यवस्थितिकरणमुखी हुनुपर्दछ भन्ने सागरको मान्यता छ ।

सागर भन्छन्–‘लामो समयको अनुभव संगठनलाई दिन चाहन्छु । त्यसैले पनि नेविसंघको पदाधिकारी नै बन्छु भन्ने मेरो सोच हो । अर्को आधार, सांगठनिकस्वरूप फरक बनेको छ । शिक्षाको अवस्था, विषयगत् कुरा फेरिएका छन् ।’

उनी थप्छन्–‘प्रविधिले परिवर्तनको बेहरी ल्याइदिएको छ । बदलिँदो समय र परिवेशलाई आत्मसात् गरी योजनासहितको प्रभावकारी संगठन चलाउन भूमिका खेल्न सक्छु भन्नेमा पूर्णविश्वस्त छु ।’

सागरले नेपालको संविधानमा सम्पूर्ण क्षेत्र, वर्ग, लिंग र समुदायबाट समानुपातिक प्रतिनिधित्व हुनुपर्ने व्यवस्था रहेको बताउँदै सोहीअनुरुप सबै दल तथा संगठनले आफ्ना विधान बनाएकैले विधिसम्मत् चल्नुपर्नेमा जोड दिएका छन् ।

समावेशी र समानुपातिक अवधारणाई टेकेर अधिक सर्वस्वीकार्यतालाई ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भने–‘ताकि यिनै संरचनाले मुलुकको संवैधानिक वैधानिकतालाई सर्वश्रेष्ठता प्रदान गर्दछन् ।’