३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


नेवि संघ अन्ततः चुनावी प्रक्रियामा, यी हुन् मैदानमा देखिएका उम्मेद्वार (नामावलीसहित)


0
Shares

-युवराज गौतम, ईमेज

काठमाडौं, साउन २७ । प्रतिनिधि छनोट र महाधिवेशनको प्रक्रियाका विषयमा लामो समयको विवाद टुङ्गिएपछि नेपाली कांग्रेसको भातृ संगठन नेवि संघ अब चुनावी प्रक्रियाबाटै नेतृत्वको छिनोफानो गर्ने अवस्थामा पुगेको छ ।

पार्टी नेतृत्वले आफ्नो विश्वास पात्र वा सोझो हस्तक्षेपमार्फत नेतृत्व ल्याउने परिपाटी ११ औं महाधिवेशनबाट अन्त्य हुने विश्वास लिइएको छ । पटक–पटक स्थगित भएर नौं बर्षपछि भएको महाधिवेशन प्रतिनिधी लफडा मिलाउन मात्र पार्टी नेतृत्वलाई तीन दिन लागेको छ भने आधिकारिक उम्मेद्वार कसलाई बनाउने भन्ने विषय अझै मिल्न सकेको छैन् ।

महाधिवेशनलाई निर्बाचन प्रक्रियामा लैजान बुधबार मात्र निर्बाचन समिति बनेको छ । समिति बिहीबार(आज) मतदाता नामावली सार्वजनिक गर्दैछ । नेवि संघका प्रबक्ता युपी लामिछानेले दिएको जानकारी अनुसार साउन २८ गते उम्मेद्वारी दर्ता र २९ गते मतदान हुनेछ । आज बन्दसत्र सुरु हुने र भोलीबाट निर्बाचन प्रक्रिया अनुरुप नै नेतृत्व चयन हुने लामिछानेले जानकारी दिएका छन् ।

यद्यपी, विवादित ११ जिल्लाको प्रतिनिधि तीन समूहबीच ‘भागबण्डा’ गरिएको छ । तर भागबण्डामा पनि को–को चयन गर्ने भन्ने विषयमा लफडा कायमै छ । चार समूह चुनावी मैदानमा देखिए पनि अन्ततः दुई समूहबीच मात्र चुनावी प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । देउवा, पौडेल-कोइराला, सिटौला र खुमबहादुर खड्का समूहले आ-आफ्नो उम्मेद्वार तयारी गरेको छ ।

सहमतिका आधारमा आधिकारीक उम्मेद्वार चयनका लागि अन्तिम कसरत भइरहेको छ । ‘जस्तै विवाद रहेपनि निर्बाचन पद्धतीबाटै नेतृत्व चयन हुनेछ, किनकी विश्वका ठूला राष्ट्रहरुमा संघीयतामा जानेबेलामा जनमत संग्रह हुनसक्ने तर हामी ३ हजार ४ सय प्रतिनिधी रहेको संगठनमा चुनाव हुन नसक्ने कुरै आउँदैन’, केन्द्रीय सदस्य लाओस राईले भने ।

यसपटक प्रस्तावित विधान अनुरुप १ सय ५१ सदस्यीय कार्यसमिति मध्ये १ सय २९ सदस्यका लागि मतदान हुँदैछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक/एक जनागरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन् ।

महामन्त्रीमा दुईजना निर्बाचित हुनेछन् । एकजना मनोनीत गरिनेछ । सात प्रदेशबाट एक/एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री केन्द्रीय समितिका लागि चयन हुनेछन् । एकजना कोषाध्यक्ष निर्बाचित गरिनेछ भने विभिन्न क्षेत्रबाट सदस्यहरु चयन गरिने छ । यतिबेला करिब ४ सय ५० बढी उम्मेद्वारहरु चुनावी मैदानमा छन् । मतदान पार्टी कार्यालय सानेपामा गरिने बताइएको छ ।

अब १२ औं महाधिवशेनबाट लागु हुनेगरी संघमा ३२ वर्षको उमेर हद लागु गरिएको छ । संघमा अब ‘एक व्यक्ति एक पद’को अवधारणा लागु गरिने पनि जनाइएको छ । दुई वर्षभित्र अधिवेशन नभए तीन महिनापछि केन्द्रीय समिति स्वतः भंग हुने गरी विधान बनाइएको छ ।

संघमा यसपटक चुनावी प्रक्रियाबाटै नेतृत्व चयन भयो भने वि.स. २०२७ सालपछिको ऐतिहासिक हुने बताइन्छ । किनकी यतिधेरै विवाद र लामो समयपछि भएको महाधिवेशनले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु भनेको संगठनभित्र लोकतान्त्रिक पद्धतीको सफल अभ्यास भएको मानिने विश्लेषकहरु बताउँछन् । हालसम्म पहिलो, छैटौं, आठौं, नवौं र दशौंमात्र निर्बाचन मार्फत चयन भएका हुन् । हालसम्म दशवटा महाधिवेशन सम्पन्न भए पनि अध्यक्ष भने १५ जना भइसकेका छन् ।

को–को छन् नेतृत्वको रेसमा ?

-अध्यक्ष: नेवि संघको नयाँ नेतृत्वका लागि दर्जन बढी अध्यक्षका प्रत्यासी छन् । जसमध्ये मनोजमणी आचार्य, जितजंग बस्नेत, दिपक भट्टराई, नैनसिहं महर, कुन्दनराज काफ्ले, आनन्दराज त्रिपाटी, क्षितिज भण्डारी प्रबल दाबेदार मानिएका छन् । शुभराम बस्नेतले पनि अध्यक्षकै लागि ब्यापक तयारी गरिहेका छन् । पौडेल–कोइराला समूहबाट मनोजमणी र दिपक भट्टराई मध्ये एकलाई आधिकारिक उम्मेद्वार बनाउने तयारी भइरहेको छ । देउवा समूहबाट नैनसिहं महर र जितजंग बस्नेतमध्ये एकजनालाई आधिकारिकता दिने तयारी भइरहेको छ भने निर्णय गर्न हम्मे हम्मे परिरहेको छ । यता कुन्दनराज काफ्लेले अध्यक्ष कुनै हालतमा नछाड्ने दाबी गरेका छन् ।

-उपाध्यक्ष: मतदानमार्फत चयन हुने ११ उपाध्यक्ष पदका लागि तीन दर्जन नेताले दाबी गरेका छन् । नविन राई, विष्णु कार्की, भरत खड्का, एलबी कार्की, राकेश श्रेष्ठ, नीमा गिरी, राजीव केसी, कृष्णकुमारी बस्नेत, सुवास भण्डारी, रेनुका काउचा, पूर्णकुमार तुम्बापो, धर्मराज खनाल, विष्णु पौडेल, सरोज न्यौपाने, अमृत पन्थी, प्रचण्ड विक्रम न्यौपाने, लक्ष्मी प्रसाद पौडेल लगायतले दावी गरेका छन् । सागर परियार, चन्दा अधिकारी, रमेश पाण्डे, मोहम्मत वजिह अर्सद(ओजी)दीपक भण्डारी, हरिश भण्डारी, बखतबहादुर शाही, विश्वामित्र रिजाल, डिबी सुनार, लिखित श्रेष्ठ पनि प्रबल दावेदार हुन् ।

-महामन्त्री: दुईजना निर्बाचित महामन्त्रीका लागि करिब १० जना मैदानमा छन् । जसमध्ये उर्मिला थपलिया, युवराज पाण्डे, डिल्लीराम सुबेदी, पुष्पकुमार शाही, विनयराम भट्ट, मनोज बैद्य, हिमालदत्त श्रेष्ठ, महेश्वरी कुँवर यतिबेला चुनाबी मैदानमा छन् । थपलिया, पाण्डे, सुवेदी र शाहीबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

-कोषाध्यक्ष: एकजना निर्वाचित कोषाध्यक्षका लागि न्यून संख्यामा उम्मेद्वारहरु देखिएका छन् । शंकरदेव क्याम्पसकी अन्जना अर्याल, पद्यमकन्याकी साधना घिमिरे केन्द्रीय कोषाध्यक्षका लागि प्रबल दावेदार मानिएका छन् ।

-सह–महामन्त्री: चुनावी प्रतिस्पर्धाबाट चयन हुने १३ सहमहामन्त्रीका लागि करिब ३० जनाले इच्छा देखाएका छन् । जसमध्ये बामदेव अधिकारी, दिनेशचन्द्र थपलिया, दुजाङ शेर्पा, निरञ्जन थापा, रघुबीर कार्की, महेन्द्र राउत, रञ्जिता कार्की, अच्युत कोइराला, गणेश पौडेल, संचिता कुईंकेल, पवन नेपाली, घनश्याम साह, प्रकाश घिमिरे,चुडामणी खनाल, दिपेन बान्तवा, नारायण हमाल, धर्मराज पौड्याल, कृष्ण भण्डारी, अजित क्षेत्रीलगायतले तयारी गरिरहेका छन् ।

-सदस्यहरु: प्रदेश, उपत्यका, पिछडिएको क्षेत्र, समावेशीलगायतबाट दर्जनौं नेताहरुले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरिहेका छन् । जयराम दाहाल, शुसील भट्ट, डम्बरराज जोशी, शैलेन्द्र शर्मा गौंडेल, कुमार दुलाल, रबिन्द्र रोकाया ,तारक केसी, लक्ष्मी पौडेल, इश्वर जंग कार्की, दिवाकर अर्याल, बाजिन्द्र बिष्ट, केशबबाबु खतिवडा, कुलराज पोख्रेल, गंगा बहादुर कार्की, अनुज कार्की, युवराज लामा, आशिक गुरुङ, अर्पणा खड्का, चन्द्र विश्वकर्मा, नीलाम्बर रेग्मी, गोपाल चौलागाईँ, राजेश केसी, प्रेम जोशी, दिनेश भुर्तेल, पुस्कर बाँस्तोला, डम्बर कार्की, लीला भट्टराई, दीपेन्द्र खड्का, उपेन्द्र मिश्र, शिव पौडेल, अस्मिता पौडेल, तेजवहादुर बानियाँ, कल्पना खड्का, कल्पना पौडेल, रूपा पोखरेल, रुद्रमणि रेग्मी, सदीक्षा चित्राकार, अनु शर्मा, एकराज बस्नेत, दिलीप दाहाल, विशाल गुप्ता, हेमन्त गुरुङलगायले केन्द्रीय समितिमा जाने इच्छा देखाएका छन् ।

अन्ततः बार्गेनिङ मात्र हुनसक्छ

नेवि संघको विधान संसोधन भएर नयाँ प्रस्ताव गरेसँगै विभिन्न पदमा दावी गरिरहेका नेताहरुको बार्गेनिङ मात्र गरिरहेको हुनसक्ने अनुमान पनि गरिएको छ । अध्यक्षमा दावी गरिरहेकाहरु अन्ततः उपाध्यक्ष तथा महामन्त्रीमा सेट हुने सम्भावना पनि जिवीत नै छ । उनीहरुले आफूलाई पदाधिकारीमै राम्रो स्थान पाए अध्यक्षको दावी छाड्ने सम्भावना बलियो छ ।

लामो समयदेखि महाधिवेशन नभएकाले उचित अवसर नपाएका कारण अध्यक्षमा दावी गरिहेकाहरु अन्ततः पदाधिकारीका जुनसुकै पदमा सहमत हुने सम्भावना रहेको बुझिन्छ । कतिपय विश्लेषकहरुले दावेदारहरुलाई व्यवस्थापन गर्न नसकिए माउ पार्टीका नेताहरुले आफ्नो आधिकारिक उम्मेद्वार तय गर्ने देखिन्छ । हाल प्रभावशाली पदमा दावी गरिरहेकाहरु सदस्यमा खुम्चिने खतरा पनि उत्तिकै छ भने सदस्यमा दावी गरिरहेकाहरु अधिकांश बाहिरिने सम्भावना छ ।