
काठमाडौं, साउन २७ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि अनशनमा रहेकी गोरखा, फुजेलकी गंगामाया अधिकारीले विहीबारदेखि आमरण अनशन सुरु गरेकी छन् ।
हत्याको आरोप लागेका छविलाल पौड्याललगायतलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाएसम्म अनशन नतोड्ने पनि उनले बताएकी छन् ।
आरोपी पौडेललाई पुर्पक्षका लागि थुनामा राखी कारबाही गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएपछि गंगामायाले केही दिनअघि सरकारलाई ‘अल्टिमेटम’ दिएकी थिइन् ।
‘अब आफू मर्न तयार’ भएको भन्दै गंगामायाले कसैको आश्वासनको भरमा अनशन नतोड्ने पनि स्पस्ट पारेकी छन् ।
विगत ६ वर्षदेखि छोराका हत्यारालाई कारबाही गर्न माग राख्दै लामो संघर्ष गर्दै आएकी गंगामायाले अब सरकारबाट न्याय पाउने आशा मरेको पनि बताइन् ।
गंगामायाका श्रीमान नन्दप्रसादको दुई वर्षअघि अनशनकैक्रममा निधन भएको थियो ।
गंगामायाका कान्छाछोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ सालको जेठमा चितवनमा गोली हानेर मारेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्