
काठमाडौं, साउन २८ । राष्ट्रपति विद्यादेवी भण्डारीले युवालाई मुलुकको समाजिक र आर्थिक विकासमा परिचालन गर्नुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले युवामैत्री नीतिको प्रभावकारी कार्यान्वयनमा जुट्न आह्वानसमेत गरिन् ।
देशको प्राकृतिक स्रोत र सम्पदाको पहिचान गर्दै युवाको भूमिकालाई प्रभावकारी बनाउन सके छोटो अवधिमै मुलुकलाई रुपान्तरण गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्ने युवाहरुलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको थियो । सम्माननीत हुनेहरुमा सीताराम कट्टेल र कुञ्जना घिमिरे, बागमती सरसफाईका अभियन्ता डा. राज अधिकारी, शिव परियारलगायत छन् ।
यसैबीच अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । ललितपुरको मंगलबजारमा पनि र्याली आयोजना गरियो । युवा चेतना फैलाउने उद्देश्यले गरिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
सन् १९९९ मा संयुक्त राष्ट्र संघको ५४ औं साधारणसभाले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरन्जनात्मक कार्यक्रम गरी सन् २००० देखि नियमित रुपमा विश्व युवा दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्