Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


सांसदहरुको विदेश भ्रमणको डकुमेन्टमा कीर्ते गर्ने एकजना पक्राउ


0
Shares

काठमाडौं, साउन ३० । विभिन्न विशिष्ट ब्यक्ति तथा सांसदहरुको विदेश भ्रमण सम्बन्धी कार्यक्रमहरुमा अन्य असम्बन्धित ब्यक्तिहरुबाट अनुचित आर्थिक लाभ लिई निजी सहयोगीको रुपमा किर्ते कागजातहरु तयार पारी युरोपका विभिन्न देशहरुमा पठाउने धन्दामा संलग्न एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा अनुसन्धानमा खटिएको ब्यूरोको टोलीले रोहित भन्ने दिनेश खड्कालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा सन् २०१६ को जुन÷जुलाईमा स्पेनमा आयोजना हुने विभिन्न कार्यक्रम तथा गोष्ठीहरुमा ब्यवस्थापिका संसद सदस्यहरुको लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा बिभागबाट जारी भएको भिषा सिफारिस पत्रमा काठमाडौं महानगरपालिका–३४, बानेश्वरस्थित ‘क्यारियर ब्रिज कन्सल्टेन्सी’ मा कार्यरत निज खड्का समेतले अनुचित आर्थिक लाभ लिने उद्देश्यले असम्बन्धित ब्यक्तिहरुको नाम किर्ते गरी थपेर उनीहरुलाई विदेश पठाउने प्रयत्न गरेको खुल्न आएको छ । अन्य ब्यक्तिहरूको संलग्नताको सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको पनि ब्युरोले जनाएको छ ।

खड्कालाई यस ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले साउन २७ गते बानेश्वरस्थित शान्तिनगरबाट नियन्त्रणमा लिई सरकारी छाप दस्तखत किर्ते मुद्दा अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य थालेको पनि प्रहरीले जनाएको छ ।

निज खड्का जालसाजी, चेक अनादर मुद्दामा फरारको सुचीमा रहेको साथै निजलाई बैदेशिक रोजगार ठगी मुद्दामा समेत अदालतबाट २ बर्ष कैद र रू दुई लाख जरिवाना तोकिएको प्रहरीले जनाएको छ । अदालतको सजाय भुक्तान नगरी उनी फरार रहँदै आएका थिए ।