
काठमाडौं, भदौ ३ । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आजबाट उच्चस्तरीय भेटवार्ता शुरु गर्दैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा नयाँ दिल्लीमा पुगेका गृहमन्त्री निधिले आज साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भवनमै हुने भेटवार्तामा दुई पक्षीय हितलगायतका विषयमा छलफल हुने जनाइएको छ । त्यस क्रममा गृहमन्त्री निधिले राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणापत्र भारतीय राष्ट्रपति मुखर्जीलाई हस्तान्तरण गर्नेछन् ।
संविधान जारी भएको दिन असोज ३ गते आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रुपमा भारतीय राष्ट्रपतिलाई निमन्त्रणा गर्न लागिएको हो ।
त्यसअघि गृहमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग आजै दिउँसो भेटवार्ता गर्ने बताइएको छ । भेटमा नेपाल–भारत सुरक्षा मामिलालगायतका छलफल हुने छ । गृहमन्त्री निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ । उपप्रधानमन्त्री निधि बिहीबार साँझ नयाँ दिल्ली पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्