
-सरोज अधिकारी/ईमेज
काठमाडौं । पछिल्ला दिनमा सत्तारुढ र विपक्षीबीचको सम्बन्ध थप चिसिएको छ ।
दुईदिन यता प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमै एकले अर्काप्रति गरेको कटाक्षले एक अर्कोका आलोचकका लागि मसला थपिदिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति बिनै संवैधानिक परिषद्ले संवैधानिक अंगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्यो ।
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश दिपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरिदियो । चिकित्सा शिक्षा विधेयक विपक्षीको अवरोधकाबीच संसद्बाट पारित भयो ।
सुरक्षा परिषद्मा विपक्षीसँग परामर्श नै नगरी प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने गरी राष्ट्रिय सुरक्षासम्बन्धी कानुनको मस्यौदा तयार भयो ।
विपक्षीले साना–तिना नियुक्ति र सरुवाका लागि गरेको सिफारिस सरकारले लत्यायो । सरकार र प्रमुख प्रतिपक्षीबीच देखिने गरी सम्बन्ध चिसिनुका प्रमुख कारण यिनै हुन् ।
तर,पछिल्ला दिनमा सरकार प्रमुख केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच वाकयुद्ध सुरु भएको छ । सार्वजनिक रुपमै एकले अर्काको उछितो काट्न थालेका छन् ।
गत चैत २९ गते काठमाडौंमा भएको कार्यक्रममा कांग्रेस सभापति देउवाले विपक्षी ११ दल भएको कार्यक्रममा ओली मुक्त प्रशासनयन्त्र बनाउन आन्दोलन गर्ने उद्घोष गरे ।
सूचनामा राम्रो पकड भएका प्रधानमन्त्री ओलीले त्यसको पर्सिपल्टै अर्थात् नयाँ वर्षको दिन एक सरकारी कार्यक्रमै देउवालाई नराम्ररी जवाफ दिए । आन्दोलन गर्न जाँदा बूढाबुढी र केटाकेटीले ढुंगा हान्ने भन्दै जोगिन भने ।
सत्तापक्ष र विपक्षीको लडाईं राजनीतिक चरित्रको भाषणमा मात्र सिमित छैन । एक अर्काप्रति उनीहरु निकै असहिष्णु बन्दै गएका छन् ।
चार–चार पटक प्रधानमन्त्री बनेका कांग्रेस सभापति देउवाले सार्वजनिक कार्यक्रमै प्रधानमन्त्री ओलीको नाम रुपान्तरण गर्दै करप्रसाद ओलीको संज्ञा दिए ।
वहालवाला प्रधानमन्त्री ओलीका हर व्यवहार र बोली जिम्मेवार हुनुपर्छ । तर, प्रधानमन्त्री जत्तिको व्यक्तिले विपक्षी दललाई सार्वजनिक कार्यक्रममै ‘नन्दीभृङ्गी’ भनिदिए ।
ओली र देउवाको कटाक्षका यी त केही उदाहरण मात्र हुन् । जीवनशैलीदेखि बोली, ब्यवहार र उनीहरु जस्तै भन्छु भन्ने लाखौं नेपाली नागरिकको सपना हुन सक्छ ।
यी तहका नेतृत्वबाट अभिव्यक्त हुने यस्ता कुराले उनीहरु जस्तै बन्छु र केही सिक्छु भन्नेका लागि के सन्देश देला ?
कुरा यति मात्र होइन, यस्तो असहिष्णु चरित्र बोक्ने नेतृत्वबाट राजनीतिक रुपान्तरण र समृद्धिको कल्पना पनि फगत मृगतृष्णा मात्र हुने त होइन ?
प्रतिक्रिया दिनुहोस्