२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


चलचित्र निर्माता थापा रहेनन्


0
Shares

काठमाडौं, भदौ ६ । नेपाली चलचित्र निर्माता डिबी (डम्बरबहादुर) थापाको सोमबार बिहान ११ः४५ बजे निधन भएको छ ।

गत ११ दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत् उनको निमोनियाका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।

ढाडमा संक्रमणसमेत भएका ८३ वर्षीय थापालाई पाँच दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउन नसकिएको बताइएको छ ।

उनले निर्माण गरेका ‘नासो’, ‘श्रीस्वस्थानी’, ‘माइली’ आदि चर्चित र सफल चलचित्रको दर्जामा पर्छन् ।

त्यस्तै, उनले ‘मायाप्रीति’, ‘जीवन–ज्योति’, ‘धर्ती–आकाश’लगायत आधादर्जनभन्दा बढी चलचित्र निर्देशन गरेका थिए ।

‘जीवन–ज्योति’ र ‘धर्ती–आकाश’ दुई चलचित्र अन्तर्राष्ट्रिय बजारसम्म पुगेका थिए । यी चलचित्र श्रीलंका, पाकिस्तान र बंगलादेशका निर्माताले संयुक्तरुपमा लगानी गरेका थिए ।

चलचित्र विकास कम्पनी, बालाजुको पहिलो अध्यक्ष रहेका थापा करिब आठ वर्षसम्म सो पदमा रहेका थिए ।

चलचित्र वितरकसमेत रहेका उनले नेपाली चलचित्रमा नयाँ प्रविधि भित्र्याउने व्यक्तिका रुपमासमेत चिनिन्छन् ।

धादिङ स्थायी घर भएका थापा छायाँ चित्रकार (फोटोग्राफर)समेत रहेका थापा फोटो कन्सर्न, पाको न्युरोडका अध्यक्षसमेत हुन् । रासस