Logo २७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026


‘रगत नपाए भक्तपुर जानू’ !


0
Shares

भक्तपुर, भदौ ८ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ ।

‘रगत नपाए भक्तपुर जानू’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो ।

रेडक्रसले यही भदौ १ गतेदेखि दैनिक रक्तदान अभियान सुरु गरेको जानकारी दिँदै शाखाका सभापति एवं सोसाइटीका केन्द्रीय सदस्य मनोज थापाले भक्तपुरको कमलविनायक, सूर्यविनायक र पाँचतले मन्दिर परिसरमा दैनिक रक्तदान कार्यक्रम सन्चालन गरेको जानकारी दिए ।

सातामा ६ दिन नियमितरुपमा बिहान ७ बजेदेखि ११ बजेसम्म र शनिबार जिल्लाका विभिन्न ठाउँमा बिहान एकैपटक रक्तदान कार्यक्रम हुने बताउँदै उनले रक्तदानमा सहभागी भइदिन सबैमा आह्वान गरे ।

शाखाबाट वार्षिक ३० हजार युनिट रगत खपत् हुने गरेको बताउँदै सभापति थापाले ‘रगतको आवश्यक परे सम्पर्क गर्न कार्यालयका फोन नम्बर ६६११६६१ र ६६१२२६६ मा निःशुल्क फोनसेवा उपलब्ध गराइएको छ’–भने ।

रगतको कम्पोनेन्ट बनाउन ६ घन्टाभित्रको ताजा रगत चाहिने भएकाले कहिले–काँही रक्तदाता तत्काल उपलब्ध नहुँदा रगतको अभाव हुने भएपनि त्यस्ता बिरामीका लागि शाखासँग पाँच सयभन्दा बढी कलिङ रक्तदाता भएकाले उनीहरुलाई बोलाएर रक्तदान गर्न लगाउने गरेको पनि उनले बताए । रासस