
फाइल फोटो
काठमाडौं, भदौ ८ । सत्ता साझेदार दल नेपाली कांग्रेसमा सरकारमा सहभागी हुने मन्त्रीको नामावली पठाउने विषयमा विवाद चुलिएको छ ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन बाँकी मन्त्रीको नाम बुधबार (आज) टुंगो लगाउने भनेपनि हालसम्म त्यसमा सहमति हुन सकेको छैन ।
पार्टीमा सभापति शेरबहादुर देउवापक्षले मन्त्रीको नाम टुंगो लगाएपनि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले भने नाम पठाएको छैन ।
मन्त्रीको नामावली टुंगो लगाउनेबारेमा छलफल गर्न बुधबार नेता पौडेल निवास बोहराटारमा सो पक्षका केन्द्रीय सदस्य र सांसदको भेला भएको थियो ।
भेलाले सभापति देउवाले मन्त्रीको नाम टुंगो लगाउने कार्यमा पार्टीको विधि, परम्परा र पद्धति पालना नगरेको आरोप लगाउँदै तत्काल सरकारमा सहभागिताको काम अघि नबढाउने निर्णय गरेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
कांग्रेसले वर्तमान सरकारमा १३ मन्त्रालय पाउने नेकपा माओवादी केन्द्रसँग सहमति भएको थियो ।
नेता पौडेल पक्षले पाँच मन्त्रालयको दाबी गरेपनि सभापति देउवापक्ष भने त्यसमा सहमत नभएको बताइएको छ ।
नेता पौडेलपक्षले सरकारमा सहभागिताका लागि सम्मानजनक अवस्था नभए सरकारमा नजाने निर्णय गरेको उनले बताए ।
भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशनका कारण कांग्रेसले मन्त्रीको नाम पठाउन ढिलाइ गरेको थियो ।
कांग्रेसले यसअघि उपप्रधान एवं गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा रमेश लेखकलाई पठाइसकेको छ ।
यद्यपि, नेता पौडेलपक्षको भेलामा सहभागी नेता बलबहादुर केसीले भने सभापतिलाई पार्टीको विधि–विधान र परम्परा कार्यान्वयन गर्न आग्रह गर्नेबारेमा छलफल भएको बताए ।
‘अहिलेको अवस्थामा सबैलाई मिलाएर लैजाने जिम्मेवारी सभापति देउवाको हो’–उनले भने ।
कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार उपचारका लागि सिंगापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै कांग्रेसबाट सहभागी हुने सबै मन्त्रीलाई शपथ गराउने तय भएको थियो ।
माओवादी केन्द्रले भने आफूले पाउने सबै ८ मन्त्रालयमा मन्त्री पठाइसकेको छ । रासस
प्रतिक्रिया दिनुहोस्