
काठमाडौं, भदौ १० । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा परी निधन भएका नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको तत्काल उद्धार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार चितवन जिल्ला प्रशासनलाई सो निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३७०९ नम्बरको बस नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् चितवनको चन्डीभञ्ज्याङ गाविसको कालीखोलामा दुर्घटनामा परेको थियो ।
प्रधानमन्त्रीले तत्काल घाइतेको उद्धार गर्न र उनीहरुको उपचारको प्रबन्ध गर्न जिल्ला प्रशासन र स्थानीय पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् ।
दुर्घटनामा परी २१ यात्रुको निधन भएको मुग्लिन प्रहरीले जानकारी दिएको छ भने १३ जनाको उद्धार गरिएको छ । घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।
विहीबार राति बस दुर्घटनामा परेको भएपनि बिहान ४ बजे गस्तीमा गएको प्रहरीले बस नदीमा तैरिरहेको देखेपछि उद्धार सुरु गरेको जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्