
काठमाडौं, भदौ १० । सरकारको विशेष बजार अनुगमन शुक्रबार पनि जारी रह्यो ।
विभिन्न स्थानमा अनियमिता र लापरबाही फेलापर्ने, कारबाही प्रक्रिया अगाडि बढाउनेक्रम पनि विगतको दिनजस्तै रह्यो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा विभिन्न टोलीले राजधानीका बजार अनुगमन गरी कैफियत भेटिएकामा कारबाही गरेको हो ।
टोलीले भक्तपुरको बोडेस्थित एउटा घरमा खाजा पसलको अनुमति लिएर घरेलु मदिरा उत्पादन गरेको पाइएको छ ।
‘हाम्रो खाजा पसल’ नाममा दर्ता गरिएको उक्त घरमा १३० ओटा घ्याम्पोमा घरेलु मदिरा उत्पादन गरेको पाइएसँगै टोलीले सिलबन्दी गरेको छ ।
त्यस्तै, भक्तपुरकै कटुन्जेमा मनिल फुड प्रोडक्ट्समा पनि सिलबन्दी गरी उत्पादन र बिक्री–वितरण गर्न रोक लगाइएको छ ।
केक, बिस्कुट, पफ आदि उत्पादन हुने उक्त उद्योगमा अत्यधिक फोहोर भएको र अव्यवस्थित पाइएसँगै सिलबन्दी गरिएको हो ।
काठमाडौंको शान्तिनगरस्थित स्टार इन्टरप्राइजेजमा अनुगमन टोलीको निर्देशन पालना नगरेको पाइएसँगै गोदाममा सिलबन्दी गरिएको छ ।
गत साउनमा अनुगमनकाक्रममा टोलीले उक्त पसललाई पुँजीबृद्धि र नापतौल प्रमाणित गर्न निर्देशन दिएको थियो ।
अनुगमन अधिकृत ढुण्डीराज पोख्रेलले अनुगमनबाट बजारमा सकारात्मक सन्देश गैरहेको दाबी गरे ।
त्यस्तै, अनुगमन टोलीले न्यू फिस हाउस/रामबाबु माछा पसल–कालीमाटीमा १६ किलो माछा, ताजा माछा पसल–कालीमाटीमा ४७ किलो माछा र सन्नी कोल्ड स्टोर, सानेपामा ७६ किलो मासु नस्ट गरेको जनाएको छ ।
सगरमाथा ग्यास उद्योग, पेप्सीकोलामा फर्म दर्ता र आयल निगमको प्रमाणपत्र पेश गर्न नसकेको, दोहोरो एक्सापायरी डेट र कम तौल भएको सिलिन्डर फेला परेसँगै सिल गरिएको जनाइएको छ ।
विमला स्वीट्स एन्ड चाट हाउसमा ढुसीपरेका गुँदपाक, खुवादेखि किरा नै परेको रसबरी पाइएसँगै टोलीले उत्पादन नस्ट गरेको जनाएको छ ।
यस्तै, सुन्ताखाना मेडिकल हल अत्तरखेल, जोरपाटीमा व्यवसायिक कार्ड नवीकरण नभएको, औषधि पसलमा फर्मासिस्ट नभएको, व्यवसाय दर्ताको कागजात नभएको पाइएसँगै सिलबन्दी गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्