
काठमाडौं, भदौ १० । आर्थिक वर्ष २०७२/७३ मा वार्षिक औसत मूल्यबृद्धि १० प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वार्षिक आर्थिकस्थितिमा गत वर्ष मूल्यबृद्धि ९ दशमलव ९ प्रतिशत रहेको जनाइएको हो । अघिल्लो आर्थिक वर्षमा सो मुद्रास्फीति ७.२ प्रतिशत रहेको थियो ।
वार्षिक बिन्दूगत आधारमा २०७३ असार महिनामा उपभोक्ता मुद्रास्फीति अझ १०.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.६ प्रतिशत रहेको थियो । तराई आन्दोलन, सीमा–नाका अवरोध र आपूर्ति असहजता जस्ता प्रतिकूल परिस्थितिका कारण समीक्षा अवधिमा मूल्यमा चाप परेको जनाइएको छ ।
समीक्षा वर्षमा दलहन तथा गेडागुडी, घ्यू तथा तेल, लत्ताकपडा तथा जुत्ता, मसला, घरायसी सामान तथा सेवाको मूल्य बृद्धिदर उच्च रहेकाले समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्न गएको राष्ट्र बैंकको भनाइ छ ।
केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०७२/७३ मा यथार्थ कुल गार्हस्थ्य उत्पादन बृद्धिदर अघिल्लो वर्ष २.७ प्रतिशतको तुलनामा समीक्षा वर्षमा ०.६ प्रतिशत रहेको अनुमान गरिएको छ ।
समीक्षा वर्षमा अपर्याप्त वर्षाका कारण प्रमुख कृषिजन्य उपजमा कमी आउनुका साथै लामो समयसम्मको बन्द, हडताल एवं सीमानाका अवरोधका कारण अर्थतन्त्रका समग्र क्षेत्रहरुमा नकारात्मक असर परेकोले आर्थिक बृद्धिदर न्यून हुन गएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, यो वर्ष प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता रकममा ७७.५ प्रतिशतले ह्रास आउनुका साथै वैदेशिक लगानीका परियोजनाको संख्यामा पनि ७.३ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा वर्षमा उद्योग विभागले रु. १५ अर्ब १४ करोडको वैदेशिक लगानी प्रतिबद्धता भएका कुल ३४१ ओटा विदेशी संयुक्त लगानीका परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको छ ।
विभागले अघिल्लो वर्ष रु. ६७ अर्ब ४२ करोडको वैदेशिक लगानी प्रतिबद्धता भएका कुल ३६८ ओटा परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको थियो ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सेवासम्बन्धी परियोजनाको संख्यामा बृद्धि भएको छ भने उत्पादन, पर्यटन र उर्जासम्बन्धी परियोजनाहरुको संख्यामा कमी आएको जनाइएको छ ।
यस्तै, गत वर्ष रेमिट्यान्सको बृद्धिदरमा पनि कमी आएको छ । समीक्षा वर्षमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले बृद्धि भइ रु. ६६५ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १३.६ प्रतिशतले बृद्धि भएको थियो ।
विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा पनि कमी आउँदै गरेको देखिएको छ ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्ख्या आर्थिक वर्ष २०७२/७३ मा १८.४ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्ष यस्तो संख्या २.८ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस्