
पोखरा, भदौ ११ । पोखराको फेवाताललाई जलकुम्भी र बन्दे झारले कुरुप बनाउन थालेपछि स्थानीयबासिले तालको झार भिक्ने अभियान थालेका छन् ।
पोखराको मूख्य पर्यटकीय आकर्षण फेवाताल जलकुम्भीले कुरुप बनाएपछि हटाउने अभियानमा पोखरा उपमहानगरपालिका र नागरिक समाजले संयुक्त प्रयास थालेका हुन् ।
यस अभियानअन्तर्गत फेवातालको खपौदी क्षेत्रबाट करिब ३० ट्रक झार निकालिएको पोखरा उपमहानगरपालिकका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।
फेवातालमा बर्षा लागेपछि वर्षेनी जलकुम्भीले यसरी नै ढाक्ने गरेको छ । वर्षैपिच्छे झारले ढाक्दा फेवाताल हेर्न आउने पर्यटकलाई असर गरेको छ ।
प्रत्येक शुक्रबार विहान दुई घण्टा झार हटाउने अभियान गरिने नागरिक समाज पोखरा संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
अभियानमा सुरक्षाकर्मी, नागरिक समाज, कर्मचारी, डुंगा ब्यवसायी, पर्यटन व्यवसायीको सहभागिता रहेको छ ।
हिउँदमा आफैं हराउने र बर्षायाममा तालको सौन्दर्य नै बिगार्ने गरी ढाकिने जलकुम्भीको दीर्घकालिन व्यवस्थापन गर्न नसक्दा फेवाताल जलकुम्भीले ढाकिने गरेको छ ।
विगत दश वर्षदेखि तालमा जलकुम्भी देखिएपछि ताल कुरुप बन्दै गएको हो । फेवाताल मानवीय र प्राकृतीक दुबै रुपमा दैनिक अतिक्रमणको चपेटामा पर्दै गएको छ ।
करिब २२ हजार ७ सय रोपनी क्षेत्रफलको नेपालकै दोस्रोे ठूलो ताल फेवाताल खुम्चिएर हाल ९ हजार ९ सय ५५ रोपनी क्षेत्रफलमा सीमित हुन पुगेको छ ।
फेवाताल विश्वमा नै सौन्दर्यमा १३ औ स्थानमा रहेको ताल हो । फेवाताल वचाउ अभियानका लागि दर्जनौं संस्था दर्ता गरिए पनि उपलब्धी भने न्यून झै छ ।
प्रतिक्रिया दिनुहोस्