२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भन्सार तिरेर भारतबाट नेपालमा माटो आयात गरिँदै


0
Shares

राजाराम कार्की (रासस)

काठमाडौं, भदौ ११ । जो कोहीले नपत्याउला ! कतै माटोपनि भन्सार तिरेर आयात गरिन्छ । तर, त्यसो होइन सेरामिक्स उद्योगमा प्रयोग हुने माटो भन्सार तिरेर आयात गर्नु बाध्यता बन्दै गएको छ ।

आधुनिक सेरामिक्सका सामान बनाउन प्रयोग गरिने माटो भारतबाट ल्याउनुपर्छ । भारतबाट आयात हुने उक्त माटो खरिद गर्दा व्यापारीले लगभग २४ प्रतिशत कर र भ्याट तिर्नुपर्छ ।

आधुनिक र अत्याधुनिक सेरामिक्स उद्योग यहाँ नगन्यमात्र रहेकाले यहाँ सालिन्दा माटोबाट तयारी समानको आयात बढेको छ ।

यसवर्ष रु चार अर्ब ३७ करोड २९ लाख ७५ हजारको विभिन्न प्रकृतिका माटोबाट निर्मित सामान भित्रिएको भन्सार विभागका महानिर्देशक शिशिर कुमार ढुंगानाले बताए ।

नेपालले घरायसीरुपमा प्रयोग हुने उक्त सामान विश्वका २८ मुलुकबाट आयात गर्ने गरेको छ ।

भारत, चीन, जर्मनी, बेलायत, थाइल्यान्ड, मलेसिया, भियतनाम, दुबई, स्पेन, इटाली, अर्जेन्टिना, स्वीडेन, श्रीलंका, स्वीजरल्यान्ड, अष्ट्रिया, बंगलादेश, टर्की, दक्षिण कोरिया, कतार र जापानलगायत देशबाट उक्त सामान आयात गर्ने गरिएको पाइएको छ ।

भान्छामा प्रयोग गरिने कप, तथा डिनर प्लेट, सजावटका सामग्री एवं शौचालयमा प्रयोग गरिने टायल, प्यानलगायत सामान उक्त देशबाट आयात हुँदै आएका छन् ।

आयात प्रतिस्थापन गर्न सरकारले स्वदेशमा कच्चापदार्थको उत्पादन तथा उत्खनन् गर्नुपर्ने हुन्छ ।

सेरामिक्स उद्योगको सम्भावना छ । तरपनि यसवर्ष यहाँबाट रु पाँच करोड ५७ लाख ७२ हजारको सेरामिक्स (हस्तकला) प्रयोजनका सामान निर्यात भएको छ ।

‘माटो र श्रमशक्तिबाहेक अधिकांश कच्चापदार्थ भारतबाट आयात हुन्छ । सरकारले भन्सार छुट दिने हो भनेमात्र आधुनिक सेरामिक्स उद्योग चलाउन सकिन्छ’–नेपाल सेरामिक्स सहकारी संस्थाका अध्यक्ष विक्रम प्रजापतिले भने ।

उद्योगी दिनेश प्रजापतिले कहिलेकाहीँ कच्चापदार्थ आयातका नाममा भन्सारबाट तयारी सेरामिक्सका सामान भित्र्दा स्वदेशी उद्योगले प्रतिपस्र्धा गर्न नसकी दर्जनौं उद्योग बन्द भएका उदाहरण दिए ।

‘नेपालमा सेरामिक्स उद्योग सन्चालनमा आएको झन्डै ३० वर्ष पुगेको छ । तर, परम्पराभन्दा माथि उठ्न सकेन’–उद्योगी शिवशकंर प्रजापतिले भने ।

धातु, स्टिल र प्लास्टिकका भाँडाकँुडा नपाइँदा मानिसले आफ्नो जीवनगुजारा गर्न माटाका थाल, गाग्रो, बचत गर्ने भाँडो (खुत्रुके)लगायत सामान निर्माण गर्दथे ।

समयसँगै परम्परागत भाँडाको सट्टामा अत्याधुनिक भाँडाको प्रयोग गर्न थाल्यो । क्रमशः विश्वमा आधुनिक सेरामिक्सका सामान प्रयोग हुन थाले ।

तर, नेपालमा अझैसम्म स्वेदशलाई धान्नसक्ने सेरामिक्स उद्योग सन्चालनमा ल्याउन सकिएको छैन ।

विश्वमा सबैभन्दा धेरै सेरामिक्सका सामान प्रयोग गर्ने देश चीन हो । चीनले भान्सामा अधिकांश सेरामिक्सका भाँडा प्रयोग गर्छन् ।

सेरामिक्स उद्योगतर्फ विश्वले आफूलाई अत्याधुनिक र आधुनिक बनाउँदै लगेपनि यहाँ स्थापना भइ सन्चालनमा रहेका सेरामिक्स उद्योगले हस्तकलाका सामानलाई प्राथमिकता दिएको नेपाल हस्तकला महासंघले जनाएको छ ।

गमला, सामान्य कप, डिनर तथा चिया प्लेट, चुरोटदानी, बालबालिकाका खेलौना, फूलदानी र विभिन्न आकर्षक जनावरका चित्रमा सीमित बन्न गएको सेरामिक्स उद्योगलाई आधुनिक बनाउनु आजको आवश्यकता हो ।