Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


लापर्वाही गरेर दुर्घटना भए लाइसेन्स र इजाजत खारेज गरिने


0
Shares

काठमाडौं, भदौ १३ । सरकारले लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज गर्ने व्यवस्था लागु गर्ने भएको छ ।

संसदमा सार्वजनिक महत्वको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन भइसकेको जानकारी दिँदै सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गरिने बताए ।

यात्रुबाहक सवारीले बढी यात्रु बोकेमा चालकका अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गरिने छ ।

यात्रुबाहकले मालसामान र मालबाहकले यात्रु बोकेमा चालकको अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने, बाटो इजाजत पत्र खारेज र सवारी दर्ता इजाजत पत्र ६ महिनाका लागि निलम्बन गरिने छ ।

पर्यटक सवारीले गैरपर्यटक यात्रु बोकेमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि ६ महिनाका लागि निलम्बन गरिने छ ।

निजी सवारीले भाडाको यात्रु बोकेमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि निलम्बन गरने तथा सार्वजनिक सवारीले रुट इजाजत नलिएको बाटोमा चलाएमा चालक अनुमति पत्र ६ महिनाका लागि निलम्बन गर्ने र सवारी दर्ता इजाजत पत्र पनि निलम्बन गरिने छ ।

लामो रुटमा दुई चालक अनिवार्य राख्नैपर्ने छ अन्यथा सवारी साधनको बाटो इजाजत पत्र खारेज र दर्ता इजाजत पत्र छ महिना निलम्बन हुनेछ ।

मन्त्री लेखकले अस्थायी रुट परमिट दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको पनि जानकारी दिए ।

कच्ची बाटोको रुट परमिट लिन विभाग र केन्द्रमा आउनु पर्ने व्यवस्था रहेकोमा अधिकार प्रत्यायोजन गरिएको हो । यसले सिण्डिकेट अन्त्यमा सहयोग पुग्ने दावी मन्त्री लेखकको छ ।