३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सुशीला कार्की नेतृत्वले गरेको ८० न्यायाधीश नियुक्तिलाई वैधता


0
Shares

काठमाडौं, चैत २९ । सर्वोच्च अदालतले प्रधान न्यायाधीश हुँदा सुशीला कार्कीले नियुक्त गरेका ८० न्यायाधीशको नियुक्तिलाई वैधता दिँदै खारेज नहुने फैसला गरेको छ ।

प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणासहित ५ न्यायाधीशको संवैधानिक इजलाशले उक्त नियुक्तिलाई वैध ठहर गरेको हो । समावेशी र जेष्ठताको विषयलाई उठाउँदै उक्त नियुक्तिविरुद्धमा परेका चार वटै रिट खारेज गरिएको छ ।

प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले रिट खारेज गरेको हो । करिब दुई वर्ष अघि भएको नियुक्तिको मुद्दाको शुक्रवार फैसला भएको हो ।

रिट उच्च अदालतका न्यायाधीश नियुक्त भएको ६ महिनापछि परेको थियो ।

तत्कालीन प्रधान न्यायाधीश कार्की, कानुन मन्त्री अजय शंकर र न्यायपरिषद्का सदस्य पदमप्रसाद वैदिक तीन जनाको निर्णयमा ८० जना न्यायाधीश नियुक्तिको निर्णय गरिएको थियो ।

न्यायाधीश वैद्यनाथ उपाध्यले अवकाश पाएकै दिन भएको उक्त निर्णयमा न्यायपरिषद्का अर्का सदस्य रामप्रसाद सिटौला अनुपस्थित थिए ।

न्याय सेवा, सरकारी वकिल र कानुन समूहका कर्मचारीबाट ६० र कानुन व्यवासायीबाट ४० प्रतिशत हुनेगरी न्यायाधीश सिफारिस गरिएको थियो ।