
जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, भदौ २५ । पाँचथरको उत्तरी क्षेत्रका किसानले गोलभेडा खेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन् ।
अमरपुर, पञ्चमी, नागीलगायत गाविसका किसानले व्यवसायिक गोलभेडा खेती गरेर वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका हुन् ।
जिल्लामा १२ हजारभन्दा बढी किसानले मुख्य आम्दानीकोरुपमा गोलभेडा खेती गरिरहेको जिल्ल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ । अमरपुर गाविसमामात्र ८ सय परिवारले गोलभेडा खेती गर्दै आएका छन् ।
गोलभेडा खेतीबाट त्यस क्षेत्रका कृषकको जीवनस्तर नै माथि उक्सिएको अमरपुरका स्थानीयको भनाइ छ ।
गत वर्ष जिल्लाबाट ४७ करोड रुपैयाँको गोलभेडा निकासी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बेनुप्रसाद प्रसाइँले बताए ।
विभिन्न कृषि समूह तथा सहकारीमा आबद्ध भइ सामूहिकरुपमा गोलभेडा खेतीमा लाग्नाले यहाँका किसानले राम्रो कमाइ गर्ने गरेका हुन् ।
कार्यालयलेसमेत वैदेशिक रोजगारबाट फर्किएका युवालाई अनुदानसमेत दिने गरेकाले गोलभेडा खेतीतर्फ कृषक आकर्षित भएको कार्यालय प्रमुख प्रसाइँले बताए ।
प्रतिक्रिया दिनुहोस्