४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


प्रधानमन्त्री दाहाल आज भारत जाँदै, यस्ता छन् भारतमा छलफल हुने विषय


0
Shares

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणमा जाँदै छन् । आफ्नो भ्रमण विशुद्ध सद्भावनामा केन्द्रित हुने दावी प्रधानमन्त्री दाहालले गरेका छन् ।

१२५ जनाको जम्बो टोली लिएर दिल्ली जान लागेका दाहालको टोलीमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसदसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत, व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।

नेपाल वायुसेवा निगमको जहाजबाट प्रधानमन्त्रीको टोली बिहान ११ बजे नयाँदिल्ली जाने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालसहितको टोली नयाँदिल्ली उत्रिएलगत्तै नयाँदिल्लीस्थित नेपाली राजदूतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम छ ।

तीनदिने भ्रमणका क्रममा प्रधानमन्त्री नयाँदिल्लीस्थित राष्ट्रपति भवनमै बस्नुहुनेछ ।

दोस्रो दिन भारतको राष्ट्रपति भवनमा उनको सम्मानमा आयोजित समारोहमा सहभागी हुने र भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी तथा केही उच्च तहका मन्त्रिपरिषद् सदस्यसँग भेट गर्ने कार्यक्रम छ ।

भ्रमणको अन्तिम दिन उनले हिमाञ्चल प्रदेशको नाथपाझाक्री जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै हरिद्वारमा रहेको पतञ्जलि योगपीठको औद्योगिक क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

दिल्लीमा रहँदा त्यहाँका उच्च तहका भारतीय तथा नेपाली व्यापारीसँग पनि छलफल गरी प्रधानमन्त्रीको टोली असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

भ्रमणका क्रममा कुनै नयाँ एजेन्डा नभई पुरानै सहमति कार्यान्वयनमा छलफल हुने र द्विपक्षीय हित एवं विश्वासको वातावरण निर्माण मूख्य प्राथमिकता रहेको प्रधानमन्त्रीको भनाइ छ ।

हुलाकी मार्गका बारेमा नेपाल र भारतबीच भएको समझदारीअनुसार पहिलो चरणको निर्माण थालनी, दोस्रो चरणका लागिसमेत भारतीय सहयोगको सम्भावनाबारेमा कुराकानी गरिने उनले बताएका छन् ।

भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा सहयोग, ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनलगायत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको अनुमोदन गरिने छ ।

भूकम्पपछिको पुनर्निर्माण र भारतीय सहयोग, भारतका तर्फबाट घोषणा भएको सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्नेबारे छलफल गरिने छ ।

नेपाल भारत सीमाको वीरगञ्जमा एकीकृत चेकपोस्ट निर्माण कार्य सम्पन्न गर्ने र विराटनगर, भैरहवा र नेपालगञ्जमा समेत चेकपोस्ट निर्माणको काम अगाडि बढाउने, व्यापार घाटा, गौरीफन्टा तथा दोधारा चाँदनीबाट व्यापार तथा पारवहन सञ्चालन, सीमापार रेल्वे स्थापना, सीमाक्षेत्रको डुबानका विषयमा पनि छलफल गरिने छ ।

नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्युरोबीच सहयोगसम्बन्धी समझदारी तथा विशाखापट्टनम बन्दरगाहबाट नेपालका नाकासम्म रेल सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल सेवा सम्झौतालाई संशोधन गर्ने पत्र आदानप्रदान हुने पनि जनाइएको छ ।

यसअघि, बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा टेलिभिजन सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा नयाँ सम्झौंता गर्नेभन्दा पनि पुराना सहमति र सम्झौता कार्यान्वयनका लागि आफ्नो जोड रहने बताए ।