
काठमाडौं । आज चैत २६ गते । २०४६ सालमा आजकै दिन ३० बर्ष लामो निर्दलीय पञ्चायती शासन ब्यवस्थाको अन्त्य भई देशमा बहुदलीय ब्यवस्था पुनर्स्थापना भएको थियो ।
नेपाली कांग्रेस र बामपन्थी पार्टीहरु सम्मिलित बाम मोर्चाले आह्वान गरेको संयुक्त आन्दोलन शिखरमा पुगेपछि तत्कालीन राजा वीरेन्द्रले २०४६ साल चैत २६ गते राती पञ्चायती ब्यवस्था खारेज गर्दै बहुदलीय राजनीतिक प्रणाली अवलम्बन गर्ने घोषणा गरेका थिए ।
नेपाली कांग्रेस र बाममोर्चाले सोही बर्ष फागुन ७ गतेदेखि आन्दोलन शुरु गरेका थिए ।
आन्दोलनको सर्वोच्च कमाण्डर गणेशमान सिंह थिए भने कृष्णप्रसाद भट्टराई, गिरिजिाप्रसाद कोइराला, मनमोहन अधिकारी, सहाना प्रधान, राधाकृष्ण मैनालीलगायतका नेताहरु अग्रणी मोर्चामा थिए ।
देशैभर एकै पटक शुरु भएको जनआन्दोलनले चैत २४ गते उग्र रुप लिएको थियो ।
आन्दोलनकारीहरु दरबार मार्गमा हजारौंको संख्यामा भेला भएर नारायणहिटी दरबारतर्फ अगाडि बढ्न थालेपछि सुरक्षाकर्मीले गोली चलाउँदा ठूलो संख्यामा हताहती भएको थियो ।
आन्दोलनका क्रममा दुई दर्जन बढीको सहादत भएको थियो । आन्दोलनकै बीचमा दरबारले तत्कालिन प्रधानमन्त्री मरिचमान सिंहलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरेको थियो ।
तैपनि आन्दोलन झन् चर्कने छाँट देखिएपछि राजा बीरेन्द्रले आन्दोलनकारी नेताहरुलाई दरबारमा बोलाएर सम्झौता गर्दै चैत २६ गते राती बहुदलीय ब्यवस्था पुनस्र्थापनाको घोषणा गरेका थिए ।
त्यसपछि कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा अन्तरिम सरकार बनेको थियो भने संविधान निर्माणका लागि संविधान सुझाव आयोग गठन भएको थियो ।
सो आयोगले संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रसहितको राजनीतिक प्रणाली रहने संविधान बनाएको थियो । जुन २०४७ कात्तिक २३ गते घोषणा गरिएको थियो ।
केही बर्ष यता भने चैत २६ लाई विर्सिन थालिएको छ । राज्य स्तरमा मात्रै नभई जनस्तरमा पनि २६ को त्यो उपलब्धिलाई सम्झने जाँगर गरेको पाईदैन ।
प्रतिक्रिया दिनुहोस्