Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सुपथ मूल्य पसल सन्चालनमा, कहाँ–कहाँ छन् यस्ता पसल ? यस्तो छ छुट


0
Shares

काठमाडौं, असोज १ । चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले शनिबारदेखि राजधानीलगायत देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सन्चालनमा ल्याएको छ ।

सरकारी संस्थान र जिल्ला प्रशासन कार्यालयहरुको सहकार्यमा सरकारले दैनिक उपभोग्य सामग्री बिक्री गर्न यस्तो पसल सन्चालन गरेको हो ।

शनिबार सहुलियतदरको सुपथ मूल्य पसलको उद्घाटन कार्यक्रममा आपूर्तिमन्त्री दीपक बोहराले व्यापारीलाई म्याद नाघेका, मिसावट गरिएका र मूल्यबृद्धि गरी सामान नबेच्न आग्रह गरे ।

उनले आग्रह नमानेमा व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए ।

काठमाडौं उपत्यकामा नेसनल ट्रेडिङका २, साल्ट ट्रेडिङका ५, खाद्य संस्थानका ३ र दुग्ध विकास संस्थानका ४ ओटा सुपथ मूल्यका पसलहरु सन्चालनमा छन् ।

नेसनल ट्रेडिङले रामशाह पथ र टेकुबाट विद्युतीय र मेसिनरी सामानमा ३० देखि ८० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

साल्ट ट्रेडिङले कोटेश्वर, सतुंगल, कालिमाटी, जावलाखेल र रामशाहपथमा सुपथ मूल्य पसल सन्चालन गर्ने जनाएको छ ।

साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ७९ रुपैयाँ र आयो नुन प्रतिकिलो १६ रुपैयाँमा बिक्री गर्ने जनाएको छ । साथै ४ भ्यानबाट घुम्ती बिक्री सेवा पनि सन्चालन गरिएको छ ।

खाद्य संस्थानले हाल रामशाह पथ, थापाथली र नख्खुमा पसल सन्चालन गरेको छ । साथै छिट्टै नै कलंकी, सीतापाइला, बूढानीलकन्ठ, कोटेश्वर, बौद्ध, सूर्यविनायकलगायतका स्थानमा पनि पसल सन्चालन गरिने जनाइएको छ ।

खाद्य संस्थानले चामल र गेडागुडीमा प्रतिकिलो ५ र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ ।

त्यस्तै, दुग्ध विकास संस्थानले लैनचौर, खुमलटार, रामशाहपथ र न्यूरोडमा यस्ता पसल सन्चालनमा ल्याएको छ, जहाँ घिउमा प्रतिकिलो १० र पनिरमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ ।

सुपथ मूल्य पसल कात्तिक २१ गतेसम्म सन्चालन हुनेछ ।