Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


भारत भ्रमणबाट प्रधानमन्त्री आज स्वदेश फर्कने


0
Shares

काठमाडौं, असोज २ । चार दिने भारत भ्रमण सकाएर प्रधानमन्त्री पुष्पकमल दाहाल आज(आइतबार) स्वदेश फर्कदै छन् ।

भदौं ३० गते भ्रमणमा निस्कनु भएको प्रधानमन्त्री दाहालले तीन दिनको भारत बसाईमा गरिएका भेटवार्ताबाट भारतसँगको सम्बन्ध सुधार्न सफल भएको दावी गरेका छन् ।

काठमाडौं फर्कनु अगाडी उनले योगगुरु रामदेवले स्थापना गरेको पतञ्जली पीठको भ्रमण गर्नेछन् ।

यसअघि, नेपालमा लगानी गरेका भारतीय उद्योगी एवं व्यापारी समुदायले हिजो गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको बताएका थिए ।

उनले शान्ति सम्झौताका प्राकृतिक साझेदारसँग एकतासहित बनेको सरकारले लगानीको वातावरण बनाउँदै गएको बताएका हुन् ।

लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानीकर्ताको मागअनुसार नेपालमा सबै संरचना तयार भएको दाबी उनको थियो ।

प्रधानमन्त्री दाहालले सरकारले लगानी एवं राजनीतिक स्थायित्वका लागि स्पष्ट नीति लिएको उल्लेख गर्दै सम्भावनाका नयाँ अध्याय सुरु भएकाले विश्वस्त हुन उद्योगी व्यापारीलाई आग्रह गरे ।

उनले कृषिमा आधारित क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि नेपाल सरकारले सक्दो सहयोग गर्ने धारणा राखे ।

प्रधानमन्त्री दाहालले विगतमा भएका अप्ठ्यारा सङ्लँदै गएको र अब शंका गर्नुपर्ने कारण नभएको जिकीर गर्दै भारत र चीन जस्ता विश्वका उदीयमान शक्ति र ठूलो अर्थतन्त्र भएका मुलुकको बीचमा रहेको नेपाल गरिब हुनै नसक्ने दाबी गरे ।

नेपालमा समृद्धिको ढोका खुलेको उनकोको भनाइ थियो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जी, पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायत नेताहरुसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

यसैबीच, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत भने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार राति नै अमेरिका प्रस्थान गरेका छन् ।

Skip This