काठमाडौं, असोज २ । कलाकार एवं साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले रुखका जराबाट बनाएको ‘जरा–कला’ आइतबारदेखि काठमाडौंको नेपाल आर्ट काउन्सिलमा प्रदर्शनमा राखिएको छ ।
राष्ट्रकवि माधव घिमिरे एवं संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्त रुपमा प्रदर्शनी उद्घाटन गरे ।
‘दृष्टिकोण’ नाम दिइएको उक्त कला प्रदर्शनीमा नरेन्द्रबहादुरले ४२ बर्षको अवधिमा बनाएका ३५ वटा ‘जरा–कला’ राखिएका छन् । प्रत्येक कलामा कविहरुका विभिन्न दृष्टिकोण कविताका माध्यमबाट व्यक्त गरिएका छन् ।
प्रदर्शनीमा नृत्यमग्न गणेश, मातृत्व, अवतार, ताण्डव नृत्य, बोधिसत्व, स्वतन्त्रता लगायतका शीर्षक दिइएका मूर्ति राखिएका छन् ।
सोही अवसरमा नरेन्द्रबहादुरका जरा–मूर्तिका तस्वीर एवं विभिन्न कविहरुका कविता समावेश गरिएको पुस्तक ‘दृष्टिकोण–जरामा अर्थ खोज्दै’ को पनि विमोचन गरिएको थियो ।
प्रदर्शनी असोज ११ गतेसम्म चल्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्