
काठमाडौं, असोज ४ । २०७२ सालको ‘जगदम्बाश्री पुरस्कार’ साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको मंगलबार बसेको साधारणसभाले ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि निरन्तर समर्पित रहेका क्षेत्रीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सन् १९३२ मा आसाम गुवाहाटीमा जन्मिएका क्षेत्रीको पहिलो रचना १९४९ मा प्रकाशित भएको थियो । प्राध्यापन पेसामा पनि संलग्न क्षेत्रीको चर्चित उपन्यास ‘बसाइँ’लगायत अरु दर्जन कृति प्रकाशित छन् ।
त्यसैगरी, मंगलबारको बैठकले २०७२ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट रामलाल जोशीद्वारा लिखित ‘ऐना’ पुस्तक (कथासंग्रह)लाई मदन पुरस्कार २०७२ अर्पण गर्ने निर्णय गरेको छ ।
यस वर्ष गुठीले श्रेष्ठ पुस्तकहरूको सूची प्रकाशित गर्ने परम्परा सुरु गरेको हो । यस वर्षको सात श्रेष्ठ पुस्तकहरू भुवनहरि सिग्देलको ‘आमोई’ रामलाल जोशीको ‘ऐना’, निलम कार्की निहारिकाको ‘चीरहरण’, घनश्याम खड्काको ‘निर्वाण’, सरिता तिवारीको ‘प्रश्नहरूको कारखाना’, बुद्धिसागरको ‘फिरफिरे’ र दामोदर पुडासैनी ‘किशोर’को ‘सिमानाका रङ्ग सिमानाका तरङ्ग’ थिए ।
वि.सं २०१२ मा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपटक २०१३ सालमा ‘हाम्रो लोक संस्कृति’का लागि संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो भने २०४५ सालमा उनको निधनपछि सम्झनास्वरुप पुरस्कार जगदम्बाश्री थप गरिएको थियो ।
ती दुबै पुरस्कारको राशि रु दुई/दुई लाख रहेको छ । पुरस्कार प्रत्येक वर्ष घटस्थापनाको भोलिपल्ट वितरण गरिँदै आएको गुठीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्