काठमाडौं, असोज ५ । समसामयिक राजनीतिक परिस्थिति र संगठनसम्बन्धी निर्णय लिन नेकपा माओवादी केन्द्रले यही असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले सचिवालयको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बुधबारको बैठकमा पार्टीको संगठनात्मक संरचनाबारे छलफल भएको उनको भनाइ थियो ।
बैठकमा कार्यालयका सदस्यले अहिले भद्दा संगठनात्मक व्यवस्थाका कारण पार्टी सन्चालनमा अप्ठ्यारो परेको बताएका थिए ।
उनीहरुले तत्काल पार्टीको महाधिवेशन हुने सम्भावना नरहेकाले त्यतिन्जेलका लागि कस्तो संरचना बनाउने भन्ने निर्णय गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
फागुनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रधानमन्त्री भएपछि अहिले सरकार सन्चालनमा प्राथमिकता दिनुपर्ने ठहर गर्दै केही समयअघि महाधिवेशन स्थगित् गरेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्