११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


ललितपुरमा स्थानीय निकाय पुनःसंरचनामा विवाद, यस्तो छ प्रस्तावित खाका


0
Shares

ललितपुर, असोज ८ । स्थानीय तह पुनःसंरचनाका विषयलाई लिएर दलहरुबीच रहेका विवाद अझै टुंगिन सकेको छैन ।

जिविस ललितपुरले स्थानीय तह पुनःसंरचनाको प्रस्तावित खाका गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण आयोगमा पठाउँदासमेत राजनीतिक दलहरु एकमत हुन सकेका छैनन् ।

घुसेल र देवीचउर गाविसका विषयमा दलले फरक–फरक धारणा राखेका छन् ।

नेपाली कांग्रेसले यी गाविसलाई प्रस्तावित खानीखोला/वाग्मती गाउँपालिकामा राख्नुपर्ने अडान लिएको छ भने नेकपा एमाले र नेकपा माआवादी केन्द्रले यी गाविसलाई प्रस्तावित बज्रविनायक नगरपालिकामा नै राख्दा जनतालाई सुविधा हुने अडान लिँदै आएका छन् ।

दलहरुबीच जिल्लामा कतिओटा स्थानीय तह बनाउने भन्ने विषयमासमेत लामो समयदेखि विवाद रहँदै आएको छ ।

सुरुमा ९ तह बनाउने प्रस्ताव आयोगमा पठाइएको जिविसका सूचना अधिकृत अनिरुद्ध महर्जनले बताए ।

‘आयोगले ६ ओटा स्थानीय तह निर्धारण गर्न भन्दै उक्त प्रतिवेदन फर्काएपछि अहिले ६ तह प्रस्ताव गरेर आयोगमा पठाइएको छ’–उनले भने–‘अन्तिम दिनसम्म पनि छुटेका दुई गाविस कता राख्ने टुंगो नभएपछि थाँती राखेर आयोगमा प्रतिवेदन पठाइएका हौं ।’

प्रस्तावित ६ तहमध्ये जिल्लामा तीन गाउँपालिका र तीन नगरपालिका रहने छन् ।

तीन गाउँपालिकामध्ये दुईओटामा ६/६ र एउटामा पाँचओटा गाविस रहने प्रस्ताव गरिएको छ ।

वाग्मतीका किनारामा पर्ने गाविस समेटेर खानीखोला/वाग्मती गाउँपालिकाको प्रस्ताव गरिएको छ ।

साविकका प्युटार, आश्राङ, गिम्दी, माल्टा, भट्टेडाँडा र इकुडोल गाविस रहने यो गाउँपालिकाको केन्द्र भट्टेडाँडा ‘रोप–वे’ भवन क्षेत्रमा राखिने निर्णय भएको जनाएको छ ।

दक्षिण पूर्वमापर्ने साविक ६ गाविस समेटेर बन्न लागेको महांकाल गाउँपालिकाको केन्द्र गोटिखेल प्रस्ताव गरिएको छ ।

गोटिखेल, बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर र ठूला दुर्लुङ गाविस महांकाल गाउँपालिकामा राख्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, तामाङ जाति संरक्षित केन्द्रकारुपमा प्रस्ताव गरिएको कोन्जेसोम गाउँपालिकामा पाँच गाविस रहेका छन् ।

कोन्जेसोमको केन्द्र चौघरेको कामलेचौर प्रस्ताव गरिएको छ । यस गाउँपलिकामा नल्लु, भारदेउ, चौघरे दलचोकी र शंखु गाविस पर्छन् ।

नयाँ चार नगरपालिकालाई समायोजन गरेर दुईओटा बनाउन प्रस्ताव गरिएको छ ।

हालको बज्रबारही र कार्यविनायक नगरपालिकालाई समायोजन गरेर बज्रविनायक नगरपालिका प्रस्ताव गएिको छ । १४ ओटा वडा रहने उक्त नगरपालिकाको केन्द्र छम्पी प्रस्ताव गरिएको छ ।

त्यस्तै, महालक्ष्मी र गोदावरी मिलाएर महागोदावरी नगरपालिका बनाउन प्रस्ताव गरिएको छ । १८ ओटा वडा रहने प्रस्तावित नगरपालिकाको केन्द्र सिद्धिपुरमा रहनेछ ।

जिल्लाले ललितपुर उपमहानगरपालिकालाई महानगरपालिका प्रस्ताव गरेको छ ।

‘पहिले गाविसका वडा छुट्याइएर पठाइएको भएपनि पछिल्लो प्रस्तावमा कुनैपनि गाविस टुक्राइएको छैन’–सूचना शाखामा कार्यरत् सावित्री बजगाइँले भनिन् । रासस