
काठमाडौं, असोज ९ । विश्व समुदायसमक्ष नेपालले मानवअधिकार र नागरिकको आधारभूत स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता जनाएको छ ।
संयुक्त राष्ट्रसंघको ७१ औं महासभालाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले नेपाल सरकार मानवअधिकार र नागरिकको स्वतन्त्रता रक्षाका लागि कटिबद्ध रहेको बताएका हुन् ।
शनिबार राति महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महतले संविधानसभाबाट जारी भएको नेपालको नयाँ संविधानले प्रजातान्त्रिक व्यवस्था, कानूनी शासन र नागरिक उत्तरदायी सरकार बनाउन सहयोग गरेको बताए ।
नयाँ संविधानले समावेशी सिद्धान्तको आधारमा सबै क्षेत्र, वर्ग र समुदायको अधिकार समेट्ने प्रयास गरेको र असन्तुष्ट पक्षलाई पनि समेट्ने प्रयास भइरहेको उनले बताए ।
दीगो शान्ति स्थापनाका लागि आफूहरु प्रयासरत रहेको उनको भनाइ थियो । नेपालका सुरक्षाकर्मीले विभिन्न देशमा संयुक्त राष्ट्रसंघको अभियानअन्तर्गत शान्ति स्थापनाका लागि काम गरिरहेको पनि परराष्ट्रमन्त्री महतले स्मरण गरे ।
राष्ट्रसंघले नेपालको विकासमा तथा नेपालले राष्ट्रसंघको शान्ति मिसनमा सहयोग गरिरहेको उनले उल्लेख गरे ।
उनले आम विनास गर्ने खालका आणविकसहित सबै हतियार निश्चित समयभित्र निशश्त्रीकरण गर्नुपर्ने पक्षमा नेपाल रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्