
चितवन, असोज ९ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमाथि आज(आइतबार) चितवन जिल्ला अदालतले फैसला गर्ने सम्भावना रहेको छ ।
चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले आज अन्तिम पेशी तोकिएको बताए ।
बरालका अनुसार यस घटनाका वादी तथा प्रतिवादीतर्फका वकिलहरुले मुद्दा पेशी नहटाए आजै मुद्दा फैसला हुनेछ । २०६१ जेठ २४ गते तत्कालिन नेकपा माओवादीले कृष्णप्रसाद अधिकारीको रत्ननगरमा हत्या गरेका थिए ।
सोही आधारमा उनका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
त्यसको एक वर्ष ६ महिनापछि मृतकका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएका मध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छोडेको थियो ।
यस घटनामा संलग्न भनिएका दुई जना अझै सम्पर्कमा आएका छैनन् । छोरा कृष्णप्रसादको हत्यारालाई कारवाही माग गर्दै अनशनरत हुँदै दुई वर्ष पहिले नन्दप्रसादको निधन भएको छ भने आमा गंगामाया निरन्तर अनशनमा रहँदै आएकी छिन् ।
पछिल्लो आमरण अनशन भने अदालतलाई बकपत्र दिनकै लागि उनले गत भदौं २७ गते अनशन तोडेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्