काठमाडौं, असोज ९ । पछिल्लो महिनामा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले गरेको १५ दिने विशेष अनुगमनमा अनियमितता गरेको पाइएका व्यवसायीलाई अझै पनि कारवाहीको दायरामा ल्याउन सकिएको छैन ।
बजार अनुगमन विशेष भनिए पनि कारवाही प्रक्रिया भने विशेष नरहेको पाइएको हो । आपूर्ति विभागले अझै पनि कारवाहीको विवरण मगाउन सम्बन्धित विभागहरुमा ताकेता गरिरहेको पाइएको छ ।
खाद्य वस्तुको गुणस्तर परीक्षणको लागि खाद्य प्रविधि तथा गुणस्तर विभागमा पठाए पनि अझै त्यसको रिपोर्ट आइसकेको छैन ।
त्यस्तै, तरकारीजन्य वस्तुको लागि कृषि विभाग, नापतौल सम्बन्धी कारवाहीको लागि नापतौल तथा गुणस्तर विभाग एवं औषधिको लागि औषधि व्यवस्था विभागमा पठाए पनि कारवाहीको टुंगो अझै नलागेको आपूर्ति विभागका महानिर्देशक गोकुल धितालले बताए ।
कारवाही प्रक्रिया अगाडि बढाउन क्षेत्रगत विभागमा पठाइएको उनले जानकारी दिए ।
उक्त अनुगमनमा ४ सय ७ वटा फर्ममा अनुगमन गरिएको विभागको तथ्यांक छ । अनुगमनमा जफत गरिएका करिब ३ करोड रुपैयाँ बराबरका सामग्री सरकारले नष्ट गरेको थियो । अनुगमनका क्रममा साना ठूला गरि करिब ६० वटा पसलमा सिलबन्दी गरिएको थियो ।
सामान बिग्रिने अवस्था आएपछि केही पसलका सिलबन्दी खोलिए पनि तिनलाई गरिने कारवाही भने नरोकिएको महानिर्देशक धितालको भनाइ छ । केही पसलका सिलबन्दी खोल्न अझै बाँकी रहेको र करिब १५ वटा पसललाई मुद्दा चलाउन कानूनी परामर्श गरिराखेको उनले जानकारी दिए ।
अनुगमनले सकारात्मक सन्देश गएको र बजारमा सुधार आएको दाबी उनको छ ।
हाल चाडपर्वको अवसरमा पनि उपभोक्तालाई गुणस्तरीय सामान सुपथ मूल्यमा उपलब्ध गराउन बजार अनुगमन र कारवाहीको प्रक्रिया जारी रहेको उनले बताए ।





प्रतिक्रिया दिनुहोस्