Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नेपाली बजार सुनसान, भारतीय बजारमा नेपाली ग्राहकको भीड


0
Shares

मोरङ, असोज १० । दसैं नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष तथा सांसद पवनकुमार सारडाले मोरङसँग जोडिएको भारतीय सीमावर्ती बजार जोगवनीको खुल्ला सिमानाले भारतीय बजारमा किनमेल गर्ने नेपालीको भीड बढेपछि स्वदेशी व्यापारी विस्थापित हुने अवस्था सिर्जना भएको बताए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले करोडौं रुपैयाँ लगानी गरेर मोरङका व्यवसायीले सञ्चालन गरेको व्यवसायमा सामान बिक्री नभएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको गुनासो गरे ।

विराट व्यापार सङ्घका अध्यक्ष शिव रिजालले सरकारले स्वदेशी बजार प्रवर्द्धन गर्ने कुनै कार्यक्रम ल्याउन नसक्दा सस्तोमा उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता भारतीय बजार जोगवनी जाने गरेको बताए ।

उनले भने, ‘नेपाली ग्राहकका लागि हामीले स्वदेशी बजार प्रवर्द्धन कार्यक्रम ल्याउन नसक्दा समस्या आइपरेको हो ।’

त्यसैगरी मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले चोरी तस्करीलाई नियन्त्रण गर्न र भन्सार करमा सुधार गर्न नेपाली उपभोक्ता सामान खरिद गर्न जोगवनी नजाने वातावरण बनाउन सरोकारवाला निकाय मिलेर लाग्नुपर्ने बताए । (रासस)