
चितवन, असोज १० । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आज पनि सुनुवाई जारी रहेको छ ।
आज(सोमबार) ११ जना वकिलले थप बहस गर्ने छन् । आइतबार जिल्ला न्यायाधीश टेकनारायण कुवँरको एकल इजलासमा वादी र प्रतिवादीको तर्फबाट ९ जनाले बहस गरेका थिए ।
बहसका लागि नाम टिपाएका २० मध्ये जिल्ला न्यायाधिवक्ता मणीराम न्यौपाने र सहायक जिल्ला न्यायाधिवक्ता उदयचन्द्र अधिकारी तथा अधिवक्ताहरु ओमप्रकाश अर्याल, बाबुराम गिरी, आशिकराम कार्की, इन्द्र अर्याल, गोपालकृष्ण घिमिरे, पुष्पराज पौडेल र काशीराम ढुंगानाले बहस गरिसकेका छन् ।
प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले यो अन्तिम पेशी तोकिएको हो । २०६१ जेठ २४ गते तत्कालिन नेकपा माओवादीले कृष्णप्रसाद अधिकारीको रत्ननगरमा हत्या गरेका थिए ।
सोही आधारमा उनका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
त्यसको एक वर्ष ६ महिनापछि मृतकका दाजु नूरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएका मध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छोडेको थियो ।
सो घटनामा संलग्न भनिएका दुई जना अझै सम्पर्कमा आएका छैनन् । कृष्णप्रसादको हत्यारालाई कारवाही माग गर्दै अनशनरत रहँदै दुई बर्ष पहिले नन्दप्रसादको निधन भएको थियो ।
नन्दप्रसादकी पत्नी गंगामायाले भने लामो समयदेखि वीर अस्पतालको शैयाबाटै संघर्ष जारी राख्दै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस्