काठमाडौं, असोज १० । प्रमुख तीन राजनीतिक दल हाल कायम रहेका इलाकालाई नै आधार बनाएर स्थानीय निकायको पुनर्संरचना गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा यो सहमति जुटेको हो ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले इलाकाहरुलाई नै स्थानीय तह बनाउन प्रस्ताव गरेका थिए ।
स्थानीय तहको पुनःसंरचनाबारे साझा धारणा बनाउन बसेको बैठकमा यो सहमति जुटेपछि अब स्थानीय तह सोहीबमोजिम हुने छ ।
जसअनुसार अब स्थानीय तहको संख्या ९२७ हुने छ । जिल्लामा रहेका इलाकालाई नै स्थानीय तह बनाउन दाहालले गरेको प्रस्तावमा कांग्रेस र एमालेले सहमति जनाएका थिए ।
स्थानीय निकाय पुनर्संरचना आयोगले ५६५ स्थानीय तह प्रस्ताव गरेको थियो । दलहरूले यो संख्या कम भएको भन्दै बढाउनुपर्ने बताउँदै आएका थिए ।
तीन दलको सहमतिपछि अब सरकारले सोहीअनुसार पुनःसंरचना आयोगलाई निर्देशन दिने छ ।









प्रतिक्रिया दिनुहोस्