
राजु चौधरी (इमेज)
चितवन, असोज १० । गाडी दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेसहित तीनजनाको खोजी भइरहेको छ ।
बेपत्ता भएकाहरुको सोमबार बिहानैदेखि खोजी भइरहेको हो । खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।
खोजीकोक्रममै सोमबार भीरमा पूर्वगृहमन्त्री घिमिरको मोबाइल फेलापरेको छ ।
दुर्घटनाका विषयमा बुझ्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सोमबार चितवन पुगेका छन् ।
उनले मुग्लिन सडकखन्डको निरीक्षणसँगै जिप दुर्घटनास्थलको अवलोकन गरे ।
मन्त्री लेखकले बंगलादेशबाट गोताखोर झिकाएरै भएपनि बेपत्ताहरुको खोजी गरिने जानकारी दिए ।
घिमिरे चढेको बा९च १५३१ नम्बरको स्कार्पियो जिप आइतबार अपराह्न त्रिशूली नदीमा खस्दा उनकी आमा चैतन्यासहित तीनजनाको मृत्यु भएको छ ।
दुर्घटनामा घिमिरेकी आमा चैतन्या, सुरक्षा गार्ड सशस्त्र प्रहरीका सहायक निरीक्षक रामचन्द्र कार्की र घिमिरका आफन्त नारायण काफ्लेको मृत्यु भएको हो ।
बेपत्ता हुनेमा पूर्वगृहमन्त्री घिमिरे, उनका दुई भाइ मोहन र प्रकाश घिमिरे छन् ।
प्रकाश घिमिरे राष्ट्रिय खेलकुद परिषदको प्रतियोगिता विभाग प्रमुख हुन् ।
गाडीका चालक विष्णु राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि भरतपुर लगिएको कुरिनटारस्थित सशस्त्र प्रहरीका एसपी गणेशबहादुर थापाले जानकारी दिए ।
उनीहरु मुक्तिनाथ गएर काठमाडौं फर्कंदै थिए । पूर्वमुख्यसचिवसमेत रहेका माधव घिमिरे २०६९ सालमा गठित खिलराज रेग्मी सरकारमा गृहमन्त्री थिए ।
प्रतिक्रिया दिनुहोस्