११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


बेसाहारा बालबालिकालाई सहारा बन्यो ‘बाल भविष्य’(भिडियोसहित)


0
Shares

-नविन शर्मा, ईमेज

धदिङ, असोज ११ । धादिङमा स्थापना गरिएको बाल भविष्य संगठन नेपाल असहाय बालबालिकाको सहाराको केन्द्र बनेको छ ।

पठनपाठनबाट बञ्चित र असहाय बालबालिकालाई यो संगठनले सहारा मात्र दिएको छैन सक्षमसमेत बनाउँदै लगेको छ ।

विभिन्न कारणले पढन पाठनबाट वञ्चित बालबालिकाका लागि सरकारले स्थापना गरेको धादिङको धादिङवेशीस्थित बाल भविष्य संगठन नेपालमा यतिवेला १०४ जना बालबालिका बस्दै आएका छन् ।

झन्डै १३ वर्ष अघि दर्ता भई स्थापना गरिएको यो बालसंगठनमा धादिङलगायत विभिन्न जिल्लाबाट बालबालिका आइपुगेका हुन् । धेरैजसो कर्णाली अञ्चलका बालबालिका यहाँ अध्ययनरत छन् ।

छोराछोरीलाई स्कूल पढाउन आर्थिक अवस्थाले नभ्याएपछि त्यस्ता परिवारहरु यहाँ शरण लिन पुगेका हुन् ।

परिवारबाट वञ्चित भएर ठूलो समुदायमा घुलमिल हुन आएका बालबालिकालाई समाजमा देखा पर्ने सवैखाले चुनौतीमा उभ्याउने उद्देश्य बोक्दै आइरहेको संंगठनका अध्यक्ष रमेश धमला बताउँछन् ।

देशका ७५ वटै जिल्लामा आफ्नो शाखा विस्तार गर्नसक्ने अधिकार पाएको यो संगठनले जिल्लाका विभिन्न वालकल्याण समितिहरुसँग समन्वय गरी काम गर्दै आएको छ ।

द्वन्द्वको चपेटामा परी वा विभिन्न कारणले आमावावु गुमाउन पुगेका बालबालिकाका लागि समाजमा स्थापित गर्दै सक्षम तुल्याउन पहल गर्दै आइरहेको संगठनले जनाएको छ ।

यहाँ रहेका बालबालिकालाई संगठनले १२ कक्षासम्म पठाउने गरेको छ । त्यसपछि भने उनीहरुले संगठन छाड्नुपर्ने भएकाले परिवार हुनेहरुलाई परिवारमै पठाउने र नभएकाहरुलाई संगठनकै निगरानीमा प्राविधिक शिक्षाका लागि पहल गरिँदै आएको छ ।

विद्यालयनै जान नपाएका बालबालिका यहाँ बसेर पढ्न र लेख्न पाएपछि उत्साहित देखिए पनि परिवारको न्यानो मायाबाट भने वञ्चित हुनुपरेको गुनासो गर्दछन् ।

बालबालिकाले परिवारमै बस्न पाउनु पहिलो अधिकार हो । तर भावीले नलेखेपछि पारिवारिक वातावरणवाट वञ्चित बन्नु उनीहरुको दोष होइन ।

राज्यले बालअधिकारको विषय कागजमै मात्रै सिमित राख्नु तर व्यवहारमा नदेखिनुले उनीहरु यसप्रकारको वालगृहमा आश्रित बन्नपुगेका हुन् ।

उनीहरुको भविष्यप्रति सोच राखेर स्थापना गरिएको यो संगठनले गर्दै आएको काम स्वागत योग्य छ । तर राज्यका तर्फबाट कुनै ठोस योजना नआएसम्म कुनै पनि कुरा परिणाममुखी हुन असम्भव छ ।