
राजु चौधरी (इमेज)
चितवन, असोज ११ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनास्थलको मंगलबार निरीक्षण गरेका छन् ।
गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसहित पुगेका गृहमन्त्री निधिले सबै प्रविधिको प्रयोग गरेर बेपत्ता घिमिरेको खोजी गर्न निर्देशन दिए ।
उनले सबै सुरक्षा निकायलाई खोजीमा अहोरात्र खटिनसमेत निर्देशन दिए ।
गृहमन्त्री निधिले खोजीकार्यका लागि कुनै सामान अपुग भए विदेशबाट मगाउन सरकार तयार रहेको बताए ।
गोताखोर टोली, विशेषज्ञ प्राविधिक टोली खोजीमा दिनरात खटिएको भन्दै उनले आवश्यक सहयोग गर्न सरकार जुनसुकै समयमा तयार रहेको वचन दिए ।
बेपत्ता घिमिरेको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी पाँच सयभन्दा बढी खटिएका छन् ।
मुस्ताङमा बाबुको सोह्रश्रद्धा गरेर फर्कंदै गरेका घिमिरे र उनको परिवार चढेको जिप आइतबार त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा घिमिरेकी आमासहित तीनजनाको मृत्यु भएको थियो । घटनामा परेका तीनजना अझै बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्