
नवराज छत्कुली (इमेज)
अपडेट
धादिङ, असोज ११ । धादिङको सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदीतर्फ जाँदै गरेको बा३ख ३३१८ नम्बरको यात्रीबहाक बस मंगलबार मार्पाकमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
मृतकहरुको सनाखत हुन सकेको छैन । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरु सबै १२ जनालाई नेपाली सेना र फिस्टेल एअरको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।
नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा घटनास्थलमा शव निकाल्ने काम भइरहेको छ ।
मंगलबार बिहान धादिङबेसीबाट ३१ जना यात्री लिएर गएको बस बिहान साढे ११ बजे मार्पाक गाउँ विकास समितिको वडा नम्बर–५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोलातर्फ ३ सय मिटर तल खसेको हो ।
३१ जनाको यात्रीको चलानी लिएर गाउँ हिँडेको बसमा छतमासमेत खचाखच यात्रु राखिएको थियो ।
पहिरो गएर थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउनेक्रममा सो दुर्घटना भएको बताइएको छ ।
घटनास्थल सदरमुकाम धादिङबेसीबाट ३२ किलोमिटर टाढा छ ।
प्रतिक्रिया दिनुहोस्