Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


‘आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’, नेपाल एअरलाइन्स सम्मानित


0
Shares

काठमाडौं, असोज ११ । ‘सबैका लागि पर्यटन’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

पर्यटन दिवसका अवसरमा नेपाल पर्यटन बोर्डले गरेको कार्यक्रममा शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले आर्थिक क्षेत्रको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताइन् ।

विश्वकै पर्यटकीय गन्तव्यकोरुपमा रहेको नेपाल सांस्कृतिक र प्राकृतिकरुपले धनी रहेको भन्दै उनले त्यसको विकास र संरक्षणमा लाग्नुपर्नेमा जोड दिइन् ।

उनले पर्यटकीय धरोहर सगरमाथा र लुम्बिनी नेपालकै गौरव भएकाले त्यस्ता क्षेत्रको संरक्षणमा सरकारले विशेष योजना बनाउने जानकारी पनि दिइन् ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले पर्यटन क्षेत्रमा बढ्दै गएको अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्यबाटमात्र नेपालमा विदेशी पर्यटकको आकर्षण बढाउन सकिने बताए ।

उनले ग्रामीण पर्यटकीय गन्तव्यको विकास र विस्तार गर्न सकिए सांस्कृतिक, धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यको विकास गर्न सकिने स्पस्ट पारे ।

पर्यटन व्यवसायीहरुले भने नाकाबन्दी र भूकम्पपछि नेपालको पर्यटन क्षेत्र ओरालो लागेको भन्दै पर्यटन क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा नेपाली धावक बैकुण्ठ मानन्धरलाई ‘गुडविल एम्बेस्डर’ घोषणा गरिएको थियो भने पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, एअरलायन्सतर्फ पर्यटकका माध्यमबाट सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गरेकोमा नेपाल एअरलाइन्सलाई सम्मान गरियो ।

यसभन्दा पर्यटन व्यवसायीहरुले ठमेलमा प्रभातफेरी निकालेका थिए । ठमेलबाट सुरु भएको प्रभातफेरी बसन्तपुर हुँदै पर्यटन बोर्ड पुगेर समापन भएको थियो ।

स्थानीय निकाय पुनः संरचनाबारे तीन दलको सहमतिमा राप्रपा नेपालको आपत्ति