Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


साझा यातायातको ‘साख’ फर्कंदै, असोज १६ देखि राजधानीबाहिर पनि सेवा


0
Shares

काठमाडौं, असोज १२ । साझा यातायातले दसैंलाईलक्षित गरी उपत्यकाबाहिर पनि सेवा दिने भएको छ ।

२०७० वैशाख १ गतेदेखि १६ ओटा बसबाट काठमाडौं उपत्यकामा सेवा दिँदै आएको साझाबसले असोज १६ गतेदेखि मोफसलमा पनि सेवा दिन लागेको हो ।

काठमाडौं–बाग्लुङ र काठमाडौं–गोरखा रुटमा सेवा सुरु गरी पुरानो गर्बिलो इतिहास दोहोर्‍याउन साझा लागिपरेको छ ।

उपत्यकासहित मोफसलबाट पनि माग बढी आइरहेको र सुरुआतमा बाग्लुङ र गोरखाबाट सेवा पुनः सुचारु गर्न लागेको साझा यातायातका कामयमुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बुधबार हामीसँग बताए ।

बाग्लुङ र गोरखा जान चाहने यात्रुले पुल्चोक, नयाँबसपार्क र कंलकीमा राखिने टिकट काउन्टरबाट टिकट खरिद गर्न सकिने उनले जानकारी दिए ।

राजनीतिक हस्तक्षेपका कारण राम्रो छविकाबीच बन्द भएको साझा यातायातले २०७० साल वैशाख १ गतेदेखि भने नयाँ ढाँचामा सेवा दिँदै आएको छ ।

साझाले पछिल्लोपटक थप ३० ओटा नयाँ बस उपत्यका ल्याइसकेको छ । यी बस थप सेवासहित ल्याइएको पाण्डेयले बताए ।

नयाँ बस प्राविधिक चेकजाँच प्रक्रियामा रहेको र दसैंपछि उपत्यकाका जारी रुटमा थप्ने र नयाँ रुटमा पनि सेवा विस्तार गर्ने उनले बताए ।

उनले नयाँ बसका लागि चालक, सहचालकसहितका कर्मचारी छनोट प्रक्रियामा रहेको बताए ।

नयाँ बसमा ४ ओटा सीसी क्यामेरा, ह्वील चियर राख्ने व्यवस्था, भेन्टिलेसन, मोबाइल चार्जरसहितका सुविधा रहेका छन् ।